stock market

के हो शेयरबजार ?

शिवप्रसाद अर्याल

Nepali typing

शेयरबजार शेयरको कारोबार हुने ठाउँ हो । तर यति नै भनाइले शेयरबजार भनेर बुझ्न सकिँदैन । यसका लागि हामीले पहिला शेयर के हो भनेर बुझ्नुपर्छ । आफूले आँटेको व्यवसाय कानूनीरूप वा संस्थागत रूपमा सञ्चालन गर्नुपर्दा आवश्यक लगानीको जोहो गर्न शेयर वितरण गरिन्छ । कतिपय संस्थाको शेयर सार्वजनिक रूपमा नै निष्कासन गर्नुपर्ने नियम हुन्छ । कतिपय अवस्थामा सञ्चालकले नचाहँदा नचाहँदै पनि शेयर सार्वजनिक गर्नुपर्छ भने कतिपय अवस्थामा आफूसँग भएको रकम (स्रोतसाधन)ले नपुग्ने भएपछि सार्वजनिक रूपमा शेयर आह्वान गर्नुपर्छ । यसमा पनि राज्यले तोकेको केही शर्तचाहिँ पालना गर्नुपर्छ । वास्तविक शेयरको कुराचाहिँ के हो भने शीप र ज्ञान हुँदाहुँदै पनि आर्थिक अभावका कारण आफैले मात्रै गर्न नसक्ने कुनै कार्य गर्न शेयर आह्वान गरिन्छ । यसरी शेयर आह्वान गर्दा प्रत्यक्ष रूपमा दुई फाइदा हुन्छ, पहिलो व्यवसाय गर्न नपुग रकम प्राप्त हुन्छ, दोस्रो कम्पनीको उत्पादन बढाउन मदत पुग्छ ।

बजारमा उपभोग्य भएन भने कुनै पनि उत्पादन विश्वसनीय, स्थायी र उपयोगी भएर पनि त्यसले तत्काल बजार लिन सक्दैन । त्यसैले आफ्नो उत्पादन लगानीकर्ताले नै एकपल्ट उपयोग गर्न अनुरोध गरियो भने स्वतन्त्र (यहाँ स्वतन्त्र भन्नाले ती शेयरहोल्डरलाई भनिएको हो जो आफूसँग भएको थोरै पैसा साधारण शेयरमा दीर्घकालीन रूपमा लगानी गर्छन्) शेयर होल्डरले आफ्नो संस्था नडुबोस् भनेर उत्पादनको प्रयोग गर्छन् । आफूले प्रयोग गरेपछि गुणस्तरीय छ भने आफ्ना साथीभाइ, इष्टमित्रलाई पनि प्रयोग गर्न सल्लाह दिन्छन् र विस्तारै प्रचारप्रसार बढ्दै जान्छ अनि यसले बजार पनि लिन थाल्छ । अर्को फाइदा भनेको कम्पनीबाट उत्पादित सामग्रीको माग ह्वात्तै बढ्यो वा कुनै विशेष परिस्थितिका कारण कम्पनीलाई पैसाको आवश्यकता पर्‍यो भने पनि हकप्रद शेयर निष्कासन गरेर पैसा सङ्कलन गर्न सकिन्छ । यसले गर्दा संस्थापकलाई सजिलो हुन जान्छ । अझ भनौं अपर्झट आइपरेको समस्या सजिलै समाधान हुन्छ । तर, संस्थापकले राम्रो गर्न खोज्दा खोज्दै पनि आएको समस्या हो भन्ने प्रभावचाहिँ जनमानसमा हुनुपर्छ । वास्तवमा यहाँ भन्न खोजिएको कुरा के हो भने शेयरमा लगानी गर्ने भनेको क्षणिक होइन र आत्तिएर पनि होइन । तर, पैसा आउने अझ भनौं अरूले गरेको मेहनतमा आफूले सानो सहयोग गर्दा दुवैलाई फाइदा हुने सम्भावना धेरै भएकाले शेयरमा लगानी गरिन्छ । तर, जब कम्पनी सुदृढ हुँदै जान्छ त्यसपछि धेरै जना आकर्षित हुन्छन् । त्यसो भएपछि शेयरको मोलमोलाइ हुन थाल्छ र त्यो मोलमोलाइ गर्ने स्थल नै शेयरबजार हो । यही मोलमोलाइले गर्दा शेयरको भाउ तलमाथि हुन्छ । वास्तविक रूपमा भन्ने हो भने कम्पनीको प्रगति उसले दिने वार्षिक प्रतिफल र कम्पनीले भविष्यमा गर्न सक्ने प्रगतिलाई आकलन गरेर शेयरको मोलमोलाइ हुने गर्छ । तर, हामीकहाँ भने शेयरबजार परिपक्व भइनसकेको अवस्थाका साथै नियमन गर्ने निकाय पनि त्यति सशक्त नभएको र सरकार पनि अस्थिर भएकाले शेयरबजारमा लगानी गर्नु भनेको मौसमी खेती जस्तै बनेको छ । केहीले प्रगति नगरेका होइनन्, तर उनीहरूको प्रगति शेयरबजारको नियमअनुसार भएको भन्न मुश्किल छ । किनभने हामीकहाँ कतिपय समयमा सूचना चुहिने गरेको छ भने सरकारको अनुहारले पनि फरक पर्ने गरेको छ ।

नेपालको मुख्य आयात मार्ग भारत हो । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालको जनजीवन नै अस्तव्यस्त भयो । त्यति हुँदाहुँदै पनि शेयरबजार उकालो लागिरह्यो भने सरकार परिवर्तन हुनेबित्तिकै अकस्मात् शेयर ओरालो लाग्न थाल्यो । यसलाई कसरी स्वाभाविक भन्ने ? सरकारले कुनै नीतिगत परिवर्तन नगर्दा नै अकस्मात् बजार एकोहोरो ओरालो लाग्छ भने यसलाई स्वाभाविक मान्न सकिँदैन । यसबाट के बुझिन्छ भने हाम्रो बजार परिपक्व छैन । यस्तो बजारमा राम्रो अध्ययन गरेर लगानी गर्दागर्दै पनि डुब्न सक्छ । यदि हामीमा धैर्य भएन भने वा हामीले तात्कालिक रूपमा नाफा कमाउने उद्देश्यले ऋण लिएर वा केही महीनापछि आवश्यक पर्ने रकम पनि लगानी ग¥यौं भने हामीलाई घाटा लाग्न पनि सक्छ  ।

अहिले राष्ट्र बैङ्कको बाध्यकारी नियमले गर्दा बजारमा अग्राधिकारको साथै एफपीओ (फरदर पब्लिक अफर) बाढी नै आएको छ । हकप्रद साबिक शेयरवालाहरूले शुरू मूल्यमा नै किन्न पाइन्छ भने एफपीओको मूल्यचाहिँ कम्पनीले तय गर्छ । त्यसलाई नियमनकारी निकायले अनुमोदन गर्नुपर्छ र उसले यसमा करेक्शन पनि गर्न सक्छ । बजारमा आफ्नो गुणस्तरीयता कायम गरिसकेको कम्पनीले आफू पुनः जनतामा जान चाहेमा (अझ भनौं लगानी थप्नुपर्ने बाध्यता छ, तर संस्थापक आफू पैसा थप्न अनिच्छुक हुँदा) शेयर निष्कासन गर्ने गरिन्छ । यसरी निष्कासन गर्दा कानूनी शर्तअनुसार नै गरिएको हुन्छ । तर, कम्पनी नाफामा चलिरहेको छ र भविष्य पनि छ भन्ने जान्दाजान्दै पनि प्रमुख सञ्चालकहरूले लगानी थप्न नचाहनु र पहिलेदेखि कम्पनीमाथि आफ्नो विश्वास गरेर बसेका साधारण शेयर लगानीकर्ताको चाहिँ कुनै भूमिका नै नहुनुचाहिँ ती सर्वसाधारण लगानीकर्ताका लागि एक किसिमको अन्याय हो । कम्पनी केही खस्कँदा वा कम्पनीलाई तत्काल पैसाको आवश्यक पर्दाचाहिँ साधारण शेयर होल्डरबाट अग्राधिकार शेयरको माध्यमबाट पैसा लिने तर कम्पनीले राम्रो ख्याति कमाइसकेपछि चाहिँ हामीले पहिलेदेखि विश्वास गरेको आधारमा हामीले पहिलेकै भाउमा केही भए पनि शेयर पाउनुपर्छ भन्न नपाइने अवस्था अउनु राम्रो होइन । हिजोसम्म हाम्रै लगानीबाट गरेको व्यापारले जगेडा कोषमा जम्मा गरिएको रकमले नै भए पनि केही मात्रामा पाउनुपर्ने होइन र ? कम्पनीले एफपीओ निष्कासन गर्दा बढी माग गरिएको रकम जगेडा कोषमा राखेर पछि बोनसका रूपमा बाँड्ने हो । तर पनि आधिकारिक रूपमा केही पाउनु सामाजिक न्यायअन्तर्गत पर्नुपर्ने हो ।

शेयरबजारमा त्यस किसिमको अधिकार छैन र यस सम्बन्धमा जनआवाज उठ्दा कोही विद्वान्ले न्यूरोडको जग्गा सस्तोमा किन्छु भनेर पाइन्छ र भन्ने तर्क गर्नुभएको छ । हो, न्यूरोडको जग्गा सस्तोमा किन्छु भनेर पाइँदैन । तर, न्यूरोडमा जग्गा किन्न १२–१५ वर्ष अघि लगानी (सहयोग) गरिएको छ भने उसले १२–१५ वर्षपछि पहिला दिएकै जति रकम फिर्ता दिन मिल्छ त ? मैले पैसा नपुगेर तिमीलाई पनि लगानी गर्न सहयोग गरेको थिएँ, अब म हरतरहबाट सक्षम भएँ तिमीलाई धन्यवाद छ है भन्नु कतिसम्म समयानुकूल हुन्छ ? त्यो त नीतिनियम बनाउने विद्वान्हरूले नै जान्ने कुरा हो । योचाहिँ पक्कै हो कि एफपीओबाट सङ्कलित रकमले अर्को वर्ष केही बढी बोनस त पाइन्छ । तर, त्यसपछि पनि कम्पनीले पहिलेजस्तै प्रतिफल दिन सक्छ त ? के उसले चाहेअनुसार नै बजार विस्तार हुन्छ त ? एफपीओका कारण घटेको शेयरको भाउ पहिलाको ठाउँमा पुग्छ त ? यस कुराको जवाफ कसले दिने ? त्यसैले साधारण लगानीकर्ताले बजारतिर पनि ध्यान दिएर लगानी गर्नु आवश्यक हुन्छ ।

अहिलेको शेयरबजार भनेको हरेक सजग नागरिकको आँखा लाग्ने ठाउँ हो । प्रायः देशहरूमा घरमै बसेर गर्न सकिने काम शेयरबजार हो । हाम्रो देशमा पनि बजारको सुधारसँगै घरमा बसेर गर्ने दिन चाँडै नै आउला । तर, नियमनकारी निकायको कमजोरी भयो र गोप्य सूचनाहरू पहिले नै चुहियो भने बेरोजगार शिक्षितहरूले रोजगारीका रूपमा लिएको पेशाले भोलिको दिनमा घर न घाटको नबनाओस् भन्ने कुरामा विचार पुर्‍याउनैपर्छ । पैसा कमाइन्छ भनेर दोस्रो बजारमा लाग्नेले हतारमा गरिएको निर्णयले फुर्सदमा पछुताउनु नपरोस् भनेर पनि बेलैमा सजगता अपनाउनुपर्छ । साथै सम्बन्धित ठाउँमा बेलैमा घचघच्याउँदै गरियो भने दुर्घटना निम्तिने सम्भावना पनि कम हुन्छ । हामीले के सोच राख्नुपर्छ भने अरूलाई बिगारेर आफू सप्रने होइन कि आफ्नो मेहनतले आफू सप्रने र अरूलाई पनि सपार्ने कोशिश गर्नुपर्छ । त्यसैले कसैले शेयरबजार वा कुनै कम्पनीका बारेमा जानकारी माग्दा पनि आफू विश्वस्त भए मात्र जानकारी दिने गर्नुपर्छ । लगानीकर्ताका लागि मुख्य कुरा बजारको राम्रो अध्ययन गरेर मात्र लगानी गरौं । यो पनि नभुलौं शेयरको दोस्रो बजारमा गरिएको लगानी कमाउनका लागि हो भने पहिलो बजारमा गरिएको लगानी देशमा उद्योगधन्दाको विकासका लागि हो ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks