what is astrology

के ज्योतिषशास्त्र ठगशास्त्र हो त ?

: ज्यो. रत्ननिधि रेग्मी
Jyotish Ratna Nidhi‘ज्योतिषां नयनं चक्षु: चक्षो सूर्य अजायत । भूत भव्यं भविष्यं च सर्व वेदात्प्रसिद्धयति ।।’ अर्थात् ज्योतिष भनेको आँखा हो, जो सूर्यले देख्न नसकेको कुरा पनि देख्न सक्छ, अरूले नजानेको विषय पनि जान्न सक्छ । यसले विगत, वर्तमान र भविष्यका कुरालाई छर्लङ्ग देखाउन सक्छ । तसर्थ ज्योतिषशास्त्रलाई महर्षिहरूले वेदको आँखाका रूपमा व्याख्या गरेका छन् ।

ज्योतिर्विज्ञानको सबभन्दा चमत्कारपूर्ण विकास आजभन्दा दश हजार वर्ष पहिले ग्रिसमा भएको थियो । त्यो बेला मय नामका आचार्य (रावणका ससुरा) ले यसलाई चरमोत्कर्षमा पुर्‍याएको पुराणशास्त्रमा वर्णित छ । ग्रह लाघवं लेख्छ– ‘अल्पावशिष्टे तु कृते मयो नाम महासुरम् । रहस्यं परमं पुण्यं जिज्ञासु ज्ञानमुत्तमम् ।।’ अर्थात्, कृतयुग सकिन एक सय २१ वर्ष बाँकी छँदा मयाचार्यले यो रहस्य पत्ता लगाएका हुन् । ‘….मयाया सविता स्वयं’ भनेबाट सूर्य स्वयम्ले मयलाई सिकाएको हो भन्ने अर्थ लाग्छ । यसप्रकार ज्योतिषशास्त्रको ज्ञानले नै रावणले आफ्नो देश लङ्कालाई भौतिक साधनले सम्पन्न बनाएका थिए । लङ्का भन्ने देश ग्रिसकै आसपास थियो भन्ने अनुमान गरिन्छ । जसलाई ग्रिक सभ्यताको केन्द्र मान्न सकिन्छ ।

आधुनिक ज्योतिषसँगै ग्रिकमा दार्शनिक र वैज्ञानिकहरूको बाहुल्य रहेको प्रमाणित हुन्छ । डा. नारायणदत्त श्रीमालीका अनुसार ‘जसले जीवनमा ज्योतिषको ज्ञान लिएन, ऊ अन्धकारमा बाँच्यो र मरेपछि पनि ऊ अन्धकारमै हराउनेछ ।’ सबै महर्षिको मतैक्यता छ कि ज्योतिषको ज्ञानबिना जीवन निरर्थक छ । यस्तो निरर्थक र अन्धकारलाई नहटाई जीवन सार्थक नहुने भएकाले प्राचीनकालका कविहरू, राजाहरू वा मन्त्रीहरूसमेतले ज्योतिष अनिवार्य पढ्ने गर्थे । ज्योतिष नपढेको मानिस उच्चपदस्थ हुनै सक्दैनथ्यो । त्यसकारण त्यतिबेला भ्रष्टाचार, अनाचार तथा हिंसा, हत्याको बाहुल्य थिएन । मानिसहरू मानिसकै हितमा समर्पित रहन्थे । माथिको प्रसङ्ग यसप्रकार झिक्न बाध्य भएको हुँ कि यदाकदा यस शास्त्रलाई ठग विद्या ठान्नेहरू पनि छन् । कसैले शास्त्रको दुरुपयोग गर्‍यो भन्दैमा शास्त्रलाई ठग विद्या भन्नु मगज सद्दे नहुनु मात्र हो । ख्रिस्तान धर्ममा लागेकाहरूले मलाई बारम्बार यस्तो नकारात्मक कुरा भन्ने गर्थे । तिनका मालिक पोप र पादरीहरूको निर्देशनमा यसो भनिएको हुनसक्छ । तर स्वयम् क्राइस्ट ज्योतिषमा पूर्ण विश्वास गर्थे । ज्योतिषकै एक शाखा विज्ञान पनि भएकाले पोप, पादरीहरूले यसलाई नमानेका हुन् । उनीहरूले कैयन् वैज्ञानिकलाई पापकर्म गरेको भन्दै फाँसी चढाएका थिए, त्यसैका सिकारमध्ये एक हुन् ग्यालिलियो । उनीहरू आफूलाई जे मन लाग्छ त्यही फैसला गर्थे ।

पङ्क्तिकारको दृष्टिमा ख्रिस्तान धर्मजस्तो निकृष्ट र विभेदकारी धर्म अर्को छैन भने हुन्छ । त्यहाँ प्रोस्टेस्टेन्ट र क्याथोलिकहरूबीच पानी बाराबार छ । एकसित अर्को बोल्दैन । काला र गोराबीचको भेद भयानक छ । नारीमाथि धर्मको पाशविक शासन छ । त्यसैले धर्ममा हिन्दू निकै उदार र प्रगतिशील मानिन्छ । हिन्दूकै एक शाखा बौद्धधर्म भएकाले अरूको तुलनामा यी अलि प्रगतिशील र नयाँ विचारलाई पनि मान्ने देखिन्छन् ।

हिन्दूका ६ मतमध्ये दुई मत नास्तिक हुन् । नास्तिक भनेको शून्यवाद हो, जो बुद्धधर्मजस्ता धर्महरू नास्तिकवादमा आधारित छन् । तर, बुद्धधर्मले विज्ञानलाई अस्वीकार गरेको छैन । हाम्रा वेद, वेदान्तमा विज्ञानकै बाहुल्य छ । अङ्ग्रेजले दुई सय वर्ष भारतमा शासन गर्दा यही वेदमा रहेका कुरालाई लगेर युरोप, अमेरिकामा स्थापित गरे र आज सम्पन्न भए । त्यसपछि तिनैले हिन्दूविरुद्ध प्रोपोगण्डा मच्चाउन सुरु गरे । किनकि हिन्दूदर्शनको ज्ञान अरूले थाहा पाएमा हामीलाई उछिन्लान् भन्ने उनीहरूलाई डर छ । पोहोर सालको कात्तिक २५ गते शनिबार दुईपीपलमा महाकवि देवकोटाजयन्ती झिल्टुङमा श्याम रिमाल, इन्द्रकुमार श्रेष्ठ र पङ्क्तिकार आमन्त्रित थियौँ । महाकवि देवकोटाकी धर्मपत्नी मनदेवीका साख्खै मामा तेजप्रसाद नेपाल हुन्, त्यसैले झिल्टुङलाई देवकोटाको मामे ससुरालीका रूपमा साहित्यमा उल्लेख गरिन्छ । हाम्रो यात्रा सोहाद्र्र एवम् उत्सुकताले भरिएको थियो । साहित्यमा महाकवि देवकोटाको अध्येताको नाताले मलाई प्रमुख अतिथि राखिएको रहेछ । यस्तो सौभाग्य मलाई १९ वर्षपछि जुटेको थियो । श्यामजीका सङ्गतमा रहँदा यस्ता अवसरहरू आइरहेकै छन् । गाडीमा यात्रा गरिरहँदा धादिङ एमालेका इन्दिरा नेपाल लुइँटेल र जगन्नाथ नेपाल पनि भेटिए । इन्दिराका पिता स्वयम् ज्योतिष र धुरन्धर पण्डित रहेछन् । इन्दिराजीको मदन भण्डारी हत्याकाण्डको खण्डकाव्य प्रकाशित भएको रहेछ । उनको माइती पनि दुईपीपलमै रहेछ । कुरैकुरामा जगन्नाथजीले जङ्गिएर ज्योतिष विद्यालाई ठग विद्या भन्न थाल्नुभयो । कसैले कुनै शास्त्रलाई दुरुपयोग गर्‍यो भन्दैमा विद्यालाई ठग भनिहाल्न हुँदैन भन्ने मेरो राय थियो । हुँदाहुँदा जगन्नाथजीले त हामीलाई ग्वाँगो सावित गर्ने वा अपढ, मूर्ख बनाउने धृष्टतासमेत गर्नुभयो । यो देखेर म तीनछक परेँ । निश्चय नै पढेको र समझदार मानिसले यस्तो रिस, द्वेष देखाउँदैन । ‘शुनि:चैव स्वपाके च पण्डिता समदर्शिना’ भन्ने कृष्णले अर्जुनलाई भनेको पङ्क्ति झट्ट सम्झँे । तर्क गर्दा पनि उहाँको अनुहार क्रोधले राता भएका शिवजीको जस्तो भयङ्कर डरलाग्दो देखिन्थ्यो । पाखुरा नै सुर्किउँला भैंm गर्न थाल्नुभयो । सबै यात्रुहरू पनि छक्कै परे । मसित मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, मदन रेग्मी मात्र होइन बडे–बडेमाका माओवादी पनि ज्योतिषीय सल्लाह लिने गर्छन् । विद्वान् दिनेशराज पन्तज्यूले मेरो पात्रो आधुनिक दृक्पञ्चाङ ०६८ मा भूमिका–मन्तव्य नै लेख्नुभएको थियो । म स्वयम् पनि जगमान गुरुङ अध्यक्ष रहेको नेपाल–चिनियाँ ज्योतिष परिषद्को समितिमा छु ।

कसले कति पढेको छ वा छैन भन्ने अनुहारबाट देखिने होइन र बुझिने पनि होइन । हो, ज्योतिषका नाउँमा ठगहरूको बिगबिगी पनि छ । तर, शास्त्र त ठग होइन नि ! उहाँको यो बेअर्थको जङ्गाई जीवनमा म कहिल्यै बिर्सन सक्दिनँ होला । हामी महिना, बार, तिथि, वर्ष जे–जे भन्छौँ ती ज्योतिषीय गणितबाट आएका हुन् । कसैले आफूलाई जति ठूलो ठाने पनि न्वारान, पास्नी, ब्रतबन्ध, विवाह, दाहसंस्कार, स्मृति आदि संस्कार तथा व्यवहारमा १, २, माना–पाथी, नापतौल, गज, मिटर, स्क्वायर, व.कि.मि., क्षेत्रफल आदि त त्यही ज्योतिषीय गणितबाटै आएका हुन् । प्राचीनकालमा ज्योतिषीय दृष्टिले बाहेक अन्यत्र गणितको चलन नै थिएन । त्यसकारण आधुनिक गणितको श्रेय नै ज्योतिष हो । शायद यो शास्त्र नभएको भए आज मानिस रहन्थ्यो वा रहँदैनथ्यो ? किनकि मानिसको सभ्यता जोगिनुमा एउटा भाग्यवाद पनि हो । मानिस स्वभावैले स्वार्थी प्राणी हो । त्यही स्वार्थका कारण अनेकानेक विधिविधान बनाइएका हुन् । त्यति मात्र होइन अन्तरिक्ष अध्ययनमा आजको अत्याधुनिक विज्ञान पनि ज्योतिषशास्त्रको तुलनामा हजारौँ वर्ष पछाडि रहेको छ ।

हालै माया सभ्यताको पञ्चाङ्गबारे यस्तो टिप्पणी आएको थियो– माया क्यालेन्डरको गणनाविधि यस्तो छ कि अहिलेको अत्याधुनिक कम्प्युटर पनि ०.०२ प्रतिशत मात्रै पुगेको छ । तसर्थ ज्योतिषबारे ज्ञान नहुनु बेग्लै कुरा हो तर पढ्दै नपढी हचुवाका भरमा ठग विद्या भन्नु दिमागी दिवालीयापन हो जस्तो मलाई लाग्छ । आजको आधुनिक विज्ञानले समेत ज्योतिष विद्याकै सहारा लिनु परिरहेको छ । विज्ञानले त चन्द्रमामा पाइला हाल्नुभन्दा माथि जान सकेको छैन । आज पनि यो ग्रह यति दूरीमा छ भनेर किटान गर्न ज्योतिषकै सहारा लिनु परिरहेको छ । ज्योतिषशास्त्रको राम्रो पढाइ हुने देश जर्मनी हो र दोस्रोमा सोभियत रुस हो । यी देशहरू राम्रो संस्कृत पढ्ने, पढाइने देशका रूपमा पनि परिचित छन् । हाम्रो दक्षिण एसियामा त पञ्चाङ्गसम्म मात्र पढाइ हुन्छ ।

खगोलबारे पढ्न पश्चिमी देश नै जानुपर्छ । यसो हुनुमा आफूलाई प्रगतिशील ठान्नेले यसलाई ठग विद्या भन्दिए, अर्काथरीले भाग्यवादका नाउँमा खाने मात्रै काम गरे । मलाई लाग्छ, यी दुवै एउटा सिक्काका दुईवटा पाटा हुन् । यी दुवैथरीका आपसी मत विभाजनले गर्दा हाम्रो संस्कृत साहित्यमा रहेका राम्रा चिजलाई पश्चिमाहरूले लगेर विज्ञानको संज्ञा दिए । संस्कृत साहित्यमा विशाल भण्डार छ । यीमध्ये आज पनि ज्योतिष, आयुर्वेद, योग र ध्यान प्रमुख रहिआएका छन् । यिनको अभावमा मानिस जीवित रहन सक्छ जस्तो मलाई लाग्दैन । यिनको समुचित विकास गर्न हाम्रो राज्य र जनता स्वयम् अत्यन्त कमजोर सावित भएका छन् । यिनको काम मानिसलाई निरोग बनाउनु हो । वास्तवमा एस्ट्रोलोजीबाट नै मेडिकोलोजी भएको हो । जसले ज्योतिष मान्दैन, उसले मेडिकल साइन्स पनि मान्दैन ।

Infomala