वीरेन्द्रनगर बजारदेखि दुई किलोमिटर पश्चिम पुगेपछि एक शान्त र मनोरम गाउँ छ । २० वटा घरधूरी छन् सबै थारु समुदायका । गाउँको आडैमा काँक्रेविहार जंगल, छेउमा समथर फाँट, पूरै बस्ती सफा, स्वच्छ र कोलाहलमुक्त । यही थारु बस्तीलाई एक वर्षभित्र नमुना गाउँको रुपमा विकास गर्न अहिले तीव्ररुपमा काम भइरहेको छ ।
जिल्ला विकास समितिको आर्थिक सहयोगमा पर्यटन विकास मञ्चले मनोरम थारु बस्तीलाई एक वर्षभित्र नमुना गाउँको रुपमा विकास गर्नका लागि विभिन्न रणनीति बनाएको छ । थारु बस्तीमा होमस्टे सुरु भएको छ । बस्तीका २० वटै घरमा होमस्टेको तयारी भइरहेको छ ।
कुन्टी होमस्टेकी अध्यक्षसमेत रहेकी अगुवा महिला सनीसरा चौधरीले ‘नमुना गाउँ’ निर्माणको लागि दीर्घकालीन योजनाहरु बनाएर अघि बढिरहेको बताइन् । ‘सुर्खेतमा आउने पाहुनाहरुलाई हाम्रो संस्कृति अनुसारकै खानपान र बसाइका लागि तालिम प्राप्त गरेर छ वटा कोठाहरु होम–स्टे सुरु गरेका छौं’ उनले भनिन्, ‘यसलाई पूरै गाउँभरी विस्तार गर्ने तयारीमा छौं ।’
उनले होमस्टेलाई आफूहरुको संस्कृति र भाषा प्रचार–प्रसारको माध्यमका साथै घरैमा गतिलो आर्थिक स्रोतको माध्यम पनि बनाउने बताइन् । ‘होम–स्टे आफ्नो कला र संस्कृति बचाउने अभियान पनि हो,’ उनले भनिन्, ‘गाउँका सबै घरमा होम–स्टे सञ्चालन गरियो भने दीर्घकालीन रोजगारी पनि सिर्जना हुन्छ ।’ एक वर्षभित्रमा गाउँलाई धुवारहित घोषणा गरी सबै घरमा बायोग्यास निर्माण गरिने उनको भनाइ छ । उनले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै भौतिक पूर्वाधारको निर्माणमा जोड दिने बताइन् । काँक्रेविहारको छेउमै रहेको कुन्टी गाउँँको विकासका लागि पर्यटन विकास मञ्च लाटीकोइलीले समेत सहयोग गर्दै आएको उनको भनाई छ । होम–स्टे सञ्चालन गरेपछि एक वर्षमा दशवटा घरमा होम स्टे सञ्चालन गर्ने र प्रत्येक घरको एकजनाले रोजगारी पाउने उनले बताइन् ।
स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले गाउँमा रहेका पर्यटकीय क्षेत्रको विकास गर्दै आयस्तर वृद्धिका लागि लाग्नुपर्ने बताए । ‘स्थानीय स्तरको आर्थिक विकास गर्नका लागि पर्यटनको विकास पनि एउटा आधार हो,’ उनले भने, प्रचुर सम्भावना बोकेको कुन्टी गाउँलाई पनि विकास गर्दै जानुपर्छ ।’
स्थानीय रुपमा आयस्तरको राम्रो माध्यमभएकाले पर्यटनको विकास आवश्यक रहेको उनले बताए । जिल्लाको पर्यटकीय स्थलहरुको विकास गर्दै पछाडि परेका समुदायको विकासका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ । जिल्ला विकास समिति, पर्यटन विकास मञ्च, गैरसरकारी संस्थालगायतका सबैले पर्यटन विकासका लागि लागिरहेको भन्दै उनले स्थानीय स्तरमा समेत सचेतना फैलाउनुपर्ने बताए । ‘स्थानीय स्तरमा समेत सचेतना फैलाउनु आवश्यक छ,’ उनले भने, ‘सचेत भएमा मात्र पर्यटकलाई गर्ने व्यवहार र बानिको विकास हुन्छ ।’ होम स्टे मा आउँदा सञ्चालकको व्यवहारले समेत फरक पार्नेभएकाले त्यसमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि योजना निर्माणो काम भैरहेको बताए । ‘जिल्लाको समग्र पर्यटन विकासको लागि योजना निर्माणको काम भैरहेको छ,’ उनले भने, ‘कुन्टीको आधारभूत विकास गर्दै पर्यटकीय विकास सम्भव छ ।’ कुन्टीसम्म जानका लागि सडकको विस्तार भए पनि स्तर उन्नति गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । सरकारी कार्यालयहरुको तर्फबाट आफूहरु सहयोग गर्न तयार रहेको बताए । कुन्टीको पर्यटन विकासका लागि स्थानीय राजनीतिक दल पनि सचेत छन् । नेपाली कांग्रेसका रविन्द्रजंग शाहीले थारु संस्कृति संरक्षणका लागि पनि होम स्टे सञ्चालन गर्नैपर्ने बताए । ‘थारु जातिको संस्कृति संरक्षणमा पनि होम स्टे सञ्चालन गर्दा प्रत्यक्ष फाइदा पुग्छ,’ उनले भने, ‘राजनैतिक रुपमा हामीले गाउँको विकासका लागि लाग्दै आएका छौँ ।’ कुन्टीमा हाँस र भेडा पालनको राम्रो सम्भावना रहेको गाउँभएकाले ‘स्पेशल’ मासुको परिकार बनाउन पनि सहयोग पुग्ने बताए ।
नेकपा एमालेका अमृत विसीले आर्थिक विकास नभएसम्म नागरिकको अन्य क्षेत्रको विकास नहुने भएकाले पर्यटनको विकास आवश्यक रहेको बताए । ‘सबैभन्दा पहिले आर्थिक विकास जरुरी छ,’ उनले भने, ‘होम स्टेको सम्भावना रहेको कुन्टीले किन दोहोरो फाइदा नलिने ?’
गाउँलाई धुँवारहित बनाउँदै स्वच्छ, सफा र सुन्दर बनाउन केपी व्यावसायिक सेवा प्रालिका कृष्णप्रसाद ढकालले बैकल्पीक रुपमा उर्जाको प्रयोग पनि हुने गाउँ पनि सफा रहनेभएकाले होम स्टेमार्फत गाउँको आर्थिक विकास गर्नुपर्ने बताए । कुन्टीलाई नमुना होम स्टे गाउँ बनाउनका लागि पर्यटन विकास मञ्च लाटीकोइली–९ ले सोही स्थानमा एक कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरी, स्थानीय राजनीतिक दल, सर्वसाधारणलगायतको
उपस्थिति थियो ।
http://www.sulsule.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks