black-money

कालो धनको कथा

स्विजरल्यान्डस्थित एचएसबीसी बैंकमा ८ जना नेपालीको पाँच अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको खुल्यो। अहिले त्यसको वैधानिकताबारे प्रश्न उठेको छ। कालो धन सञ्चित गर्ने स्वर्गका रूपमा बदनाम भएको स्विस बैंकमा नेपाली पैसा खुलेकै बखत व्यापारी अजय सुमार्गीको कम्पनीको नाममा ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट प्रत्यक्ष वैदेशिक लगानी (फरेन डाइरेक्ट इन्भेस्टमेन्ट- एफडीआई) भित्रिने बाटो खुल्यो।
दीपेश केसी

दीपेश केसी

Email dipeshkc@gmail.com 

थप रकम भित्रिने स्वीकृति प्रक्रिया रोकिएपछि आर्थिकमात्र नभई राजनीतिक बृत्तमा पनि तरंग आएको छ। उच्च राजनीतिक तहसम्म विशेष सम्बन्ध रहेका सुमार्गीको कम्पनीका नाममा एफडीआई ल्याउन स्वीकृति दिनु र लगत्तै रोकिनुभित्रको ‘आन्तरिक अर्थराजनीति’ केलाउने प्रयास भइरहेको छ। कालो धनको स्वर्गका रूपमा बदनाम भएका देशहरूबाट रकम ल्याउन खोज्नुले शंका जन्माउनु स्वाभाविक हो। नेपाल राष्ट्र बैंकसँग स्वीकृति नलिई खाता खोलिएकाले स्विस बैंकमा जम्मा भएको नेपालीको खुलेको रकम वैध हुनसक्दैन। सुमार्गीले भित्राउन लागेको रकम वैध/अवैध के हो सरकारी निकायले टुंगो लगाउला। विदेशी बैंकमा नेपालीको खाताबारे चर्चापरिचर्चा धेरै पहिलेदेखि नै भएको हो। सन् २०१३ मा स्विस बैंकमा १३ नेपालीको खाताबारे खुल्यो। राजनीतिक कुहिरोमा रूमल्लिएर आर्थिक विषय छायामा पारिने नेपाली समाजमा त्यस्ता विषयको पारदर्शिता र अनुसन्धानले महत्व पाएन। यसमा धेरैको स्वार्थ गाँसिएको छ, जसको खुलासा समय आएपछि अवश्य होला।

कालो धनको पर्दाफास
गोप्य सूचनाहरू पर्दाफास गरेर चर्चामा आएको विकिलिक्सले सन् २०११ मा स्विस बैंकमा रकम जम्मा गर्नेबारे खुलासा गरेपछि संसारभर तरंग आयो। स्विस बैंकका उच्च अधिकारीबाट चुहिएको सूचनाअनुसार बढी रकम जम्मा गर्नेमध्ये भारत, रूस, बेलायत, युक्रेन र चीन शीर्ष स्थानमा थिए। क्रमशः खुलाइएको रिपोर्टअनुसार रकम जम्मा गर्नेमध्ये गरिब र विकासोन्मुख देशका व्यक्तिको संख्या उल्लेख्य थियो। भ्रष्टाचारविरोधी अन्ना हजारेको आन्दोलन चर्किएपछि भारत सरकारले कालो धनबारे श्वेतपत्र नै जारी गर्नुपर्योि। त्यहाँको सरकारलाई विदेशमा कालो धन राख्नेको नाम खुलाउन र धन फिर्ता ल्याउन दबाब पर्योै।

विकिलिक्सले एकपछि अर्को गर्दै स्विस बैंकको कालो धन खुलासा गरेपछि भारतभित्र मुद्दा चर्कियो। भारतीय विज्ञहरूले कर छल्ने वा कालो धन लुकाउने अभिप्रायले ५ सय अर्ब डलर भारतबाहिर लुकाइएको अनुमान गरे। धन लुकाउनेहरूमा शक्तिशाली व्यापारीदेखि राजनीतिक दलका नेतासमेत छन्। भारतमा धेरैअघि राजनीतिक मुद्दा बनेको कालो धनको विषयले नेपालमा विस्तारै चर्चा पाउन थालेको छ। ग्लोबल फाइनान्सियल इन्टिग्रिटीको सन् २०१२ को तथ्यांकअनुसार सन् २००१ देखि २०१० का बीच नेपालबाट रू ८७०३.९४ अर्ब पुँजी पलायन भयो। यसमा कालो कारोबारी र भ्रष्टाचारीहरूको रकम उत्तिकै थियो।

कालो धनलाई स्वर्ग
स्विजरल्यान्डको सुन्दरता र विकासका कारण त्यो देश पृथ्वीको स्वर्गका रूपमा प्रख्यात छ। अझ कालो धन लुकाउनेका निम्ति त स्विस बैंक संसारकै स्वर्ग बन्नपुगेको छ। धन सुरक्षित र गोप्य रहने हुँदा गरिब देशका धनाढ्यहरू त्यहाँको बैंकमा आकर्षित भएका हुन्। बैंकिङ गोपनीयता भंग गर्नुलाई स्विजरल्यान्डमा गम्भीर अपराध मानिन्छ। उक्त बैंकका उच्च अधिकारी रूडोल्फ एल्मरले बैंकको खाता र धनबारेको गोपनीयता खोलेकोमा कडा सजाय पाए। विकिलिक्सले खुलासा गरेको दुई हजार नामका कारण एल्मर विवादमा आएका थिए। सन् २००२ का केही खाता र बचतकर्ताका नाम आफूले उपलब्ध गराएको उनले स्वीकारे। एल्मरका अनुसार खुलेका नामहरू बैंकका बचतकर्तामध्ये ५ प्रतिशतमात्र हुन्। घटनाले कालो धन जम्मा गर्नेका लागि स्वर्ग बनिरहेको स्विस बैंकहरूको विश्वसनीयता गुम्यो। नाम खुल्ने भयले रकम खाडी तथा अन्य सुरक्षित गन्तव्यतिर सर्न थाल्यो।

कालो धनको सुरक्षाका लागि स्विस बैंकहरू स्वयंले भूमिका खेलेको घट्ना बेलाबखत चर्चामा आउने गर्छ। स्विस बैंकले नै २० करोडको कर छल्न सहयोग गरेको क्यालिफोर्नियाका चर्चित व्यापारीले सन् २००८ मा खुलासा गरेका थिए। बैंकले नै सहयोगी भूमिका खेल्ने हुँदा स्विजरल्यान्ड कालो धनको स्वर्ग बन्नसक्यो। जम्मा भएको कालो धन फिर्ता गर्ने क्रममा त्यस्ता बैंकहरूले अवरोध सृजना गर्छन्। फिलिपिन्सका पूर्वतानाशाह फर्डिनान्ड मार्कोसको नाममा जम्मा भएको ६८ करोड ३० लाख डलर सन् १९८६ मा स्विस बैंकले रोक्का गरेको इतिहास छ। स्विजरल्यान्डबाहेक ब्रिटिस भर्जिन आइल्यान्ड, मौरिसस र लिचटेनस्टेन जस्ता देशमा रकम लुकाइन्छ। उनीहरूको बैंकिङ प्रणाली र कानुनले समेत कालो धनलाई प्रश्रय र प्रोत्साहित गरेको छ।

मार्कोसले विदेशमा जम्मा गरेको धनमध्ये केही प्रतिशत स्विजरल्यान्डमा फेलापर्योक। १२ वर्ष लामो पहलपछि मात्र फिलिपिन्स सरकारले धन फिर्ता ल्याउनसक्यो। पिज्जा कनेक्सनका रूपमा चर्चित सन् १९८२–८५ को घट्नामा १.६ अर्ब डलर लागु औषधबापत्को रकम अमेरिकाबाट स्विस बैंकतर्फ पुगेको थियो। सन् १९८६ को बोफोर्स काण्डमा स्विडेनको हतियार निर्माण कम्पनी बोफोर्सले भारतीय राजनीतिक दलका नेताहरूलाई ४ करोड डलर कमिसन दिँदा स्विस बैंकको खातामा जम्मा गरिदिएको थियो। कोलम्बियाका कोकिन किङपिङ पाब्लो एस्कोबारले कालो धन अमेरिकामा राखेका थिए।

नेपालीको कालो धन
डब्लु. रेमन्ड बेकरले सन् २००७ मा गरेको अध्ययनले प्रतिवर्ष १ देखि १.६ खर्ब अमेरिकी डलर ‘गैरकानुनी रकम’ उत्पन्न हुने देखाएको छ। त्यसको आधा रकम विकासशील र संक्रमणकालीन अर्थतन्त्रबाट उत्पन्न हुने अनुमान गरिएको छ। कालो धन गैरकानुनी कार्यबाट कमाइन्छ, जसका लागि नेपालजस्तो अस्थिर देश स्वर्ग हो। स्विस बैंकमा नेपालीको शंकास्पद धनले कालो धनबारेको धेरै प्रश्नको उत्तर खोज्न सहज बनाएको छ। बचतकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग अनुमति नलिई विदेशी बैंकमा खाता खोले गैरकानुनी ठहर्ने गर्भनर युवराज खतिवडाले खुलाइसके। रकम अवैध हो भन्ने पुष्टि भए पनि कालो धन हो–होइन खोजी हुनुपर्छ।

स्विस बैंकमा रकम जम्मा गरेको खुलेका मध्ये कोही पनि चर्चित अनुहार होइनन्। तर राजनीतिक दलका चर्चित नामहरूसमेतले रकम जम्मा गरेको अपुष्ट दाबी नभएकाचाहिँ होइनन्। नेपालका नेताहरूले भारतीय बैंकबाट स्विस बैंकमा करोडौँ डलर सारेर सञ्चित गरेको प्रसंग पनि उठ्यो। पञ्चायतकालमा मूर्ति तस्कर मौलाउँदा विदेशी बैंकमा कालो धन सञ्चित गरेको विषयले तरंग ल्यायो। सुन तस्करीदेखि लागुऔषधका ठूला कारोबारीले विदेशमा कालो धन सञ्चित गर्छन्। फिर्ता ल्याउने त परै जाओस् खोजीसम्मको साहस कसैमा भएन। एकपटक विदेश पुगेको कालो धन सायदै फिर्ता आउँछ। गुपचुप राखिएका त्यस्ता धन फिर्ता ल्याउन स्वयं बचतकर्ताले पनि चाहँदैन। सम्बन्धित देशले फिर्ता ल्याउन चाहेमा सामान्य तागतले पुग्दैन। भारतले गरिरहेको पहलसमेत अपुग देखिएको छ। भारत सरकारले कालो धन फिर्ता गर्ने उद्देश्यसहित स्विजरल्यान्ड र जर्मनीस्थित बैंकमा रहेका ७ सय बैंक खाताबारे जानकारी लियो। सन् २०१५ मा आएर एचएसबीसीमा खाता खोलेका मध्ये ११९५ जना भारतीय रहेको खुलेको छ। सन् २०११ मा ६२८ जनाको नाम फ्रान्सले भारतलाई दियो। कूल साढे २ खर्ब भारू जम्मा भएको उल्लेख छ, तर फिर्ता ल्याउन सकेन।

देशभित्र सुरक्षित हुने वा देशबाहिर जाने नै किन नहोस् कालो धन ‘खराब धन’ नै हो। देशको धन बाहिर जानु ठूलो आर्थिक क्षति हो। त्यसमाथि हाम्रो जस्तो गरिब देशबाट एकपटक पुँजी पलायन भएपछि फर्केर आउने सम्भावना न्यून रहन्छ। गरिब देशमा उत्पन्न हुने कालो धनलाई आकर्षित गरी लाभ लिन धनी देशहरू सधैँ सक्रिय छन्। सकेसम्म कालो धन उत्पादन हुननदिनु सरकारको जिम्मेवारी हो। उत्पादन भइसकेको कालो धनलाई विदेश पलायनबाट रोक्नु अर्को चुनौती हो। विदेश पलायन भएका धनलाई नेपाल भित्राउन पहल गर्नु त झनै ठूलो चुनौती हो।

सबैभन्दा महŒवपूर्ण कार्य भनेको कालो धनको भण्डाफोर गर्नु हो। यसो नगरे देशले ठूलो आर्थिक मूल्य चुकाउनुपर्छ। हाम्रोजस्तो गरिब देशमा कालो कारोबारी फस्टाएर पुँजी पलायन बढिरहन्छ। नेपालमा भ्रष्ट नेता, व्यापारी र कर्मचारीले कालो धन विदेशमा लुकाउँछन् भन्ने जगजाहेर भइसक्यो। उनीहरू आफ्नो, परिवार या विश्वासपात्रको नाममा रकम लुकाउँछन्। त्यस्ता व्यक्ति र रकमको भण्डाफोर गर्नैपर्छ। गरिबीले प्रताडित देशमा गैरकानुनी ढंगले अकुत सम्पत्ति कमाउने र त्यो पनि विदेश पुर्याकएर दोहोरो अपराध गर्नेहरू राष्ट्रघाती हुन्। अक्षम अपराध गर्नेहरूले उन्मुक्ति पाउने सिलसिला अन्त्य गर्नु अबको चुनौती हो। विदेशमा सञ्चित कालो धनको भण्डाफोर गर्न र स्वदेश फिर्ता ल्याउन सरकारलाई नागरिक दबाब आवश्यक छ। भारतमा भ्रष्टाचारविरोधी अभियान सशक्त बनेपछि तत्कालीन कंग्रेस आईको सरकार कालो धनबारे श्वेतपत्र जारी गर्न बाध्य भएको थियो। नेपालीको कालो धन विदेश पुगेको तथ्य खुल्दै जाँदा त्यसलाई निरूत्साहित गर्न र पुँजी पलायन रोक्न दबाबमूलक अभियान खाँचो छ।

nagariknews
Stock market ideas in Nepali language