कर्मचारीको मिलेमतोमा जग्गा धनीलाई थाहै नदिई किनबेच

भण्डारा–२ चितवनका लोकेन्द्रराज पाठक त्यतिबेला झसंग भए, जब उनको नाममा रहेको तीन बिगाह एक कठ्ठा पाँच धुर जग्गा अरु कसैले बेचेको पत्तो पाए । देवेन्द्र थापालगायतको गिरोहले काठमाडौं डिल्लीबजार र चितवन मालपोतका कर्मचारीसँग मिलेर उनको जग्गा बेचेको अनुसन्धानबाट खुलेको छ ।

जग्गा धनी पाठकको नागरिकता तथा लालपुर्जा नै किर्ते बनाएर जग्गा बिक्री गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पाठकको लालपुर्जाको फोटोकपिका आधारमा थापाले जग्गाधनीको नागरिकता र लालपुर्जा बनाएका थिए ।

गिरोहले उक्त जग्गा २०६६ माघमा काठमाडौंस्थित डिल्लीबजार मालपोतमार्फत जिल्लाविहिन अर्थात बेजिल्ले कागजात बनाएर जीवनराज पाठकलाई एक लाख रुपैयाँमा बेच्यो । अनौठो त के छ भने, यसरी जग्गा किन्ने जीवनराज नाम गरेको मान्छेको अस्तित्व भने कागजमा मात्रै छ । ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक मीरा चौधरीले भनिन्, ‘अनुसन्धानबाट जीवनराज भन्ने मान्छे नै छैन भन्ने पत्तो लाग्यो । किर्ते नाम र किर्ते कागजका आधारमा जग्गा बेचिएको रहेछ ।’

यसरी जग्गाधनीको नक्कली कागजातका आधारमा नक्कली मान्छेलाई जग्गा बेचिएको सक्कली कागजात डिल्लीबजार मालपोतबाट गिरोहले प्राप्त गर्‍यो । नियमअनुसार बेजिल्ले पास गरिएको जग्गा उक्त जग्गा रहेको जिल्लास्थित मालपोत कार्यालयमा पठाउनका लागि सिलबन्दी गरेर हुलाकमाफर्त कागजात पठाईन्छ वा कर्मचारीकै हातबाट पठाईन्छ । तर गिरोहसँग मिलेका कर्मचारीले भने उक्त कागजात गिरोहकै सदस्यलाई दिएर पठाए । कागजातमा एक लाख रुपैयाँमा बेचेको लेखिए पनि गिरोहले अगाडी दुई अंक थपेर २१ लाखमा बेचेको बनायो ।

जग्गा किनबेचको श्रृंखला यतिमै रोकिएन । नक्कली कागजकै भरमा कर्मचारी र गिरोहले मिलेर उक्त जग्गा नक्कली जीवनराजबाट २०६६ चैतमा मकवानपुरस्थित नेचुरल फ्लावर एण्ड हर्बल कम्पनीलाई ४९ लाख ५० हजार रुपैयाँमा बिक्री गरियो । हर्बल कम्पनीले उक्त जग्गासहित तीनवटा घर धितो राखेर २०६९ साउनमा प्राइम बैंकबाट आठ करोड रुपैयाँ निकाल्यो ।

किर्ते गरी जग्गा किनबेच गरेको आरोपमा प्रहरीले मोरङ इटहराका देवेन्द्र थापा, झापा गौरिगन्जका नगेन्द्र कार्की, खोटाङ घर भई ललितपुर बस्ने मीनबहादुर भट्टराईलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पीडित पाठकले आफ्नो जग्गा किर्ते गरि बिक्री गरिएको थाहा पाएपछि बदरका लागि चितवन जिल्ला अदालतमा मुद्दा दिएका छन् ।
‘किर्ते जग्गा किनबेचमा संलगन अरु माथि पनि अनुसन्धान भईरहेको छ,’ ब्युरो प्रवक्ता चौधरीले भनिन्, ‘सरकारी कर्मचारी र अरु पनि छिट्टै पक्राउ पर्नेछन् ।’

नागरिकता ऐन २०२० का अनुसार किर्ते नागरिकतामा एक देखि पाँच बर्षसम्मको कैद वा २० देखि एक लाख सम्मको जरिवानाको व्यवस्था छ भने ठगीमा पाँच बर्षसम्मको कैद वा विगो बराबरको जरिवाना तोकेको छ ।
http://kantipur.ekantipur.com