करर्पोरेट हाउसमा जागिर खान जाँदा यसो गरौँ

अहिले प्रतिष्ठित निजी कर्पोरेट हाउमा जागिर खान निकै गाह्रो छ । अवसर कम र जनशक्ति धेरै भएकाले जागिर पाउन मुस्किल छ । निजी संघसंस्थामा जागिर खान जाँदा सबैभन्दा पहिले हेर्ने भनेको सम्बन्धित व्यक्तिको शैक्षिक योग्यताको प्रमाणपत्र नै हो । उक्त व्यक्तिले कुन श्रेणीमा पास गरेको छ, जस्तै विशिष्ट, प्रथम, द्वितीय, तृतीय कुन श्रेणीमा पास गरेको छ भन्ने विषयलाई गहिरो गरी हेर्ने गरिन्छ । कुन कलेज, विश्वविद्यालयबाट पास गरेको छ भन्ने विषयले पनि अर्थ राख्छ । जागिर खान आउने व्यक्तिले पढ्दै गर्दा खाली समयमा केके काम गरेको थियो । खाली समयमा उक्त विद्यार्थीले घुमेर बितायो कि कुनै सामाजिक काम गरेर बितायो, कि कुनै संघसंस्थामा स्वयंसेवकका रूपमा काम गरेको छ भन्ने विषयलाई पनि मूल्यांकन गरिन्छ ।
निजी व्यापारिक हाउसमा काम गर्दा सम्बन्धित व्यक्तिको बानी व्यवहारलाई पनि हेर्ने गरिन्छ । कुनै व्यक्तिको शैक्षिक योग्यता राम्रो, तर बानी व्यवहार झर्कने, रिसाउने, समूहमा सहकार्य नगर्ने खालको व्यवहारले जागिर पाउन गाह्रो हुन्छ । कुनै कर्पोरेट हाउसमा काम गर्ने भनेको परिवारको रूपमा काम गर्ने भएकाले व्यवहारलाई हेर्ने गरिन्छ । कुनै व्यक्तिमा आफ्नो लाइफको बारेमा योजना हुनुपर्छ ।
आगामी दिनमा के गर्ने भन्ने विषयमा योजना हुनुपर्छ । आफ्नो लाइफको बारेमा योजना नबनाएको व्यक्तिले संस्थाका लागि भिजन दिन नसक्ने ठानिन्छ । ‘संस्था जताजता जान्छ त्यतै’भन्दा केही आफ्नो व्यक्तिगत भिजन पनि हुनुपर्छ । जसले गर्दा संस्थालाई एउटा कर्मचारीको भिजनले संस्थालाई थप सहयोग  पुग्न सक्छ ।
जागिर खान जाने व्यक्ति जुन संस्थामा जागिर खान जाँदै हुनुहुन्छ, उक्त संस्थाको बारेमा थोरै भए पनि अनुसन्धान गरेर जानुहोस् । संस्थाका बारेमा थोरै जानकारी राखेमा जागिर खान जाने व्यक्तिलाई प्लस प्वाइन्ट हुन्छ । जागिर खान आउने व्यक्तिले आफ्नो भन्नु केही पनि छैन भन्ने गर्दछन् । जागिर खान आउने व्यक्तिले यसरी कहिल्यै पनि गर्नुहुँदैन ।
संस्थालाई फाइदा पुग्ने गरी केही सकारात्मक सुझाब वा केही सकारात्मक वाक्य भन्नुपर्छ । यसरी कहिलेकाहीँ अन्तिममा भनिएको वाक्यले मात्र पनि जागिर पाउने सम्भावना हुन्छ ।