कम्प्युटर ह्याङ र इण्टरनेट स्पीड

कम्प्युटरमा कुनै काम गर्दा होस् वा इण्टरनेट सर्फिङ गर्दा, सिष्टम ढिलो भएर तनाव नहुने व्यक्ति कमै होलान् । वास्तवमा कम्प्युटरमा नचाहिने धेरै सफ्टवेयर इन्ष्टल हुनु, टेम्पोररी फाइल बढी हुनु, कम्प्युटर भाइरसले ग्रस्त हुनु वा तात्नु यसको कार्यप्रणाली ढिलो हुनुका कारक तत्त्व हुन् । यस्तै, कम्प्युटरको र्‍याम कम भएर पनि ढिलो भएको हुन सक्छ ।

कम्प्युटरको स्पीड बढाउन रनमा गएर प्रतिशत टीईएमपी प्रतिशत टाइप गरी इण्टर थिच्नुपर्छ । यस्तो गर्दा टेम्पोररी फाइलहरू देखापर्छन् र यसलाई डिलिट गर्नुपर्छ । यसैगरी समय–समयमा कम्प्युटरको डिस्कफ्र्याग्मेण्ट गरे पनि कम्प्युटर छिटो हुन्छ । बेला–बेला रिसाइकल विन सफा गरेमा पनि कम्प्युटर फाष्ट हुन्छ । कम्प्युटरमा रहेका अनावश्यक प्रोग्राम हटाउँदा पनि यसको गति बढ्ने गर्छ ।

कम्प्युटर आम दिनचर्याको हिस्सा बनिसकेको छ । यो हाम्रो जीवनको महत्त्वपूर्ण अङ्गमात्र बनेको छैन, रोजीरोटीको सवाल पनि यसैमा जोडिएको छ । त्यसैले पनि यसलाई बेला–बेलामा समग्र परीक्षणका साथै भ्याकुम लगाएर फोहोर सफा गर्नुपर्छ । यसो गर्दा केही मात्रामा भए पनि कम्प्युटरको गति बढ्छ ।

विभिन्न सफ्टवेयर चलाउँदा बनेका टेम्पोररी फाइल, इण्टरनेट चलाउँदा कुकिज, हिष्ट्रीलगायत धेरै फाइलका साथै अनावश्यक रूपमा ब्याकग्राउण्डमा चलिरहेका प्रोग्रामले पनि कम्प्युटरको गतिमा ढिलाइ हुन्छ ।  त्यस्तै, स्पाइवेयर, भाइरस, इण्डेक्सिङलगायत विभिन्न कारणले पनि कम्प्युटर सुस्त हुन्छ । कम्प्युटर ढिलो हुँदा काममा बाधा पुग्नुका साथै अनावश्यक तनावसमेत बढ्छ ।

यस्तो समस्या ‘टुलविज केयर’ नामक सफ्टवेयरबाट समाधान गर्न सकिन्छ । यो सफ्टवेयरको प्रयोगले कम्प्युटरको गति छिटो हुन्छ । वास्तवमा यो एउटा सफ्टवेयर मात्र नभएर सफ्टवेयरहरूको एउटै प्याकेज हो । यसले कम्प्युटरको रजिष्ट्री, डिस्क क्लिन, सिष्टम चेक, स्पीड अप, फिक्स, ब्याकअप, सिष्टम स्टार्टअप अप्टिमाइजेशन लगायतको काम गर्छ । यसबाट कम्प्युटरको गति तुलनात्मक रूपमा बढ्ने गर्छ । यो सफ्टवेयर निःशुल्क रूपमा डाउनलोड गर्न सकिन्छ ।

इण्टरनेटको स्पीड बढाउने उपाय
धेरै स्पीडको इण्टरनेट जडान गर्न बढी पैसा खर्च गर्नुपर्ने हुन्छ । कम स्पीडको इण्टरनेट चलाउँदा एकदम ढिलो भएर टाउको दुखाइको बिषय बनिरहेको हुन सक्छ । के हामीले खरीद गरेको इण्टरनेटको सम्पूर्ण ब्याण्डविथ इण्टरनेट चलाउँदा अथवा डाउनलोड गर्दा खर्च गरिरहेका छौं त ? यो परीक्षण गर्न इण्टरनेटको गति परीक्षण गर्न सकिन्छ । मोबाइलमा भए गुगल प्लेस्टोर र एप स्टोरमा इण्टरनेटको स्पीड टेष्ट गर्ने एप निःशुल्क डाउनलोड गर्न सकिन्छ । कम्प्युटरमा भए इण्टरनेट ब्राउजरमा गई इण्टरनेटस्पीड टेष्ट नेटमा गई गति मापन गर्न सकिन्छ । यो मापन गर्दा डाउनलोड स्पीड र अपलोड स्पीड देखाउने गर्छ, जसबाट इण्टरनेट प्रोभाइडरले कुन स्पीडको इण्टरनेट दिइरहेको छ भने पत्ता लगाउन सकिन्छ ।

इण्टरनेट सेवा प्रदायकले ‘१६ मेगाबाइट पर सेकेण्ड’को फाइबर इण्टरनेट जोडेको छ भने डाउनलोड स्पीड ‘२ मेगा बाइट पर सेकेण्ड’ हुनुपर्छ । तर, स्पीड चेक गर्दा ‘१ दशमलव २८ मेगाबाइट पर सेकेण्ड’भन्दा माथि गएन भने स्पीडभन्दा ३६ प्रतिशत कम ब्याण्डविथ आइरहेको भन्ने थाहा हुन्छ ।

‘१ दशमलव २८ मेगाबाइट पर सेकेण्ड’ भनेको धेरै राम्रो इण्टरनेट कनेक्शन हो । अनलाइन भिडियो हेर्न, गीत सुन्न, सामाजिक सञ्जाल चलाउन, टेक्ष्ट मेसेज र भिडियो च्याट गर्न यो पर्याप्त हुन्छ ।  तर, हामीले जति इण्टरनेट स्पीडका लागि शुल्क तिरेका हुन्छौं, त्यति नपाइरहेका पनि हुन सक्छौं ।

इण्टरनेट सेवा प्रदायक कम्पनीले हामीलाई तोकेकै जति इण्टरनेट स्पीड दिएको छ/छैन भनेर जान्न खोज्ने हामी साह्रै थोरै छौं । १ एमबीपीएसदेखि ५० जीबीसम्मका लिमिटेड तथा अनलिमिटेड डेटा प्याक बजारमा उपलब्ध छन् । फाइबर इण्टरनेटमा डेटा लस साह्रै थोरै मात्रामा देखिन्छ, त्यसकारण आफूले सब्स्क्राइब गरेको प्याकेजमा पाइने स्पीड धेरै तलमाथि हुँदैन ।

कसरी जान्ने स्पीड ?
इण्टरनेट स्पीड जान्न धेरै गाह्रो छैन । लाइन कनेक्शन वा वाइफाइदेखि कुनै पनि नेटवर्कमा कनेक्ट भएपछि त्यस नेटवर्कको स्पीड सजिलै थाहा पाउन सकिन्छ । इण्टरनेट स्पीड जाँच्ने थुप्रै मोबाइल एप्स, वेब एप्स, डेस्कटप एप्सको विकास भइसकेको छ । तीमध्ये ‘स्पीडटेष्ट डट नेट’, ‘फाष्ट डट कम’ सजिलो र भरपर्दो वेब एप मानिन्छन् ।

‘स्पीडटेष्ट डट नेट’ एण्ड्रोइड र आईओएस दुवै मोबाइल अपरेटिङ सिष्टमका लागि उपलब्ध छ । साथै, गुगल क्रोम प्रयोगकर्ताले यो वेबएपको एक्ष्टेन्शन क्रोम वेब स्टोरबाट निःशुल्क डाउनलोड गर्न सक्छन् । आफ्नो इण्टरनेट ब्राउजरदेखि ‘स्पीडटेष्ट डट नेट’ वा ‘फाष्ट डट कम’ खोलेर सजिलै आफ्नो इण्टरनेट स्पीड पत्ता लगाउन सकिन्छ । यी दुई एपले दिने स्पीड रिपोर्टमा अङ्क धेरै थोरै फरक देखिन सक्छन् ।

‘फाष्ट डट कम’ले आफ्नो नेटफ्लिक्स सर्भरदेखि केही फाइल डाउनलोड गरेर कनेक्शन स्पीड चेक गर्छ भने ‘स्पीडटेष्ट डट नेट’ले नजिकैका इण्टरनेट सेवा प्रदायक कम्पनीले होष्ट गरेका सर्भरको सहायता लिन्छ । नजिकैको सर्भरदेखि फाइल डाउनलोड गर्ने हो भने अवश्य धेरै स्पीड पाइन्छ । त्यसकारण ‘स्पीडटेष्ट डट नेट’मा नजिकको होष्ट चेञ्ज गरेर नेपालभन्दा बाहिरका सर्भर छानेर स्पीड चेक गर्ने हो भने आफूले पाइराखेको इण्टरनेट स्पीडको (डाउनलोड र अपलोड) जानकारी लिन सकिन्छ । ‘फाष्ट डट कम’ले भने डाउनलोड स्पीड मात्रै चेक गर्छ । आफूले पाइरहेको स्पीड ८० प्रतिशतभन्दा कम छ भने इण्टरनेट सेवा प्रदायक कम्पनीसँग तुरुन्तै गुनासो राख्नु बुद्धिमानी हुन्छ ।

कम्प्युटरको डेस्कटप रिफ्रेश
विण्डोज कम्प्युटर वा ल्यापटपको स्क्रिनमा राइट क्लिक गरेर हामीमध्ये धेरैले रिफ्रेश गरिरहेका हुन्छौं । कम्प्युटर ह्याङ भएको बेला सोही रिफ्रेश अप्शनमा क्लिक गर्ने हाम्रो बानी नै परिसकेको हुन्छ । कम्प्युटरलाई रिफ्रेश गर्दा के हुन्छ त ? यसबारे हामीलाई पूर्ण जानकारी नहुन सक्छ । वास्तवमा कम्प्युटर रिफ्रेश गर्दा यसको गति बढ्ने र ह्याङको समस्या हट्ने गर्दैन । अहिलेको कम्प्युटर समय–समयमा आफै रिफ्रेश हुने गर्छ । यसलाई यस्तो ढङ्गले प्रोग्राम गरिएको हुन्छ । जब कण्टेण्टमा कुनै परिवर्तन आउँछ, तब यो आफै रिफ्रेश हुुन्छ । जस्तै– कुनै नयाँ फाइल डेस्कटपमा पेष्ट गरिसकेपछि वा प्रोग्रामको आइकन बनिसकेपछि कम्प्युटर आफैले त्यो फाइल देखाइदिन्छ । तर, कहिलेकाहीँ यस्तो आफै हुन सक्दैन र परिवर्तन डेस्कटपमा आफै नदेखिन सक्छ । यसका लागि मात्र म्यानुअल्ली रिफ्रेश अप्शन राखिएको हुन्छ ।

डेस्कटपका आइकनहरूलाई रिसेड्युल गर्नुपर्दा, डेस्कटपमा कुनै आइकन नदेखिँदा वा एप्लिकेशन देखा नपर्दा भने रिफ्रेश गर्नुपर्छ ।

हामीमध्ये धेरैजना कम्प्युटर चलाउँदा बारम्बार डेस्कटप रिफ्रेश गरिरहन्छौं । कोही कम्प्युटर स्लो हुँदा यस्तो गर्ने गर्छन् । तर, डेस्कटप आइकन नदेखिएको अवस्थामा बाहेक अन्य कुरामा कम्प्युटर स्लो भएकोमा रिफ्रेश गर्नुको कुनै फाइदा हुँदैन ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks