computer refresh

कम्प्युटर कत्तिको रिफ्रेश गर्नुहुन्छ ?

केही मानिस कम्प्युटर खोलेबित्तिकै रिफ्रेश गर्न शुरू गर्छन् । कतिपय चाहिँ लगातार रिफ्रेश गर्छन् । तर, तपाईंले रिफ्रेशको असर केही हुन्छ कि हुँदैन भन्ने विषयमा कहिल्यै सोच्नुभएको छ ?
एक विवरणले विण्डोजका १० जना प्रयोगकर्तामध्ये ९ जनाले रिफ्रेश गर्ने गरेको देखाएको छ । कम्प्युटर वा ल्यापटप खोले पनि सबैजसो प्रयोगकर्ताको पहिलो काम भनेको त्यसलाई रिफ्रेश गर्नु नै हुने गरेको छ । कहिलेकाहीँ कम्प्युटरलाई रिफ्रेश पनि गर्नुपर्ने हुन सक्छ । तर, धेरैले यसको काम तथा प्रभाव पनि थाहा नपाईकन रिफ्रेश गरिरहेका हुन्छन् ।

केही मानिसले आफ्नो नजिकैको साथीले रिफ्रेश गरिरहेको देखेर पनि रिफ्रेश गरिरहेका हुन्छन् । केही मानिस कम्प्युटर रिफ्रेश गर्नाले छिटो चल्छ भन्ने सोचाइ राख्छन् । कतिपयले लगातार ३० सेकेण्डसम्म कम्प्युटर रिफ्रेश गरिरहेका हुन्छन् भने केहीले एफ५ थिचेर पनि रिफ्रेश गर्ने गरेको देखिन्छ ।

के हो त रिफ्रेशको वास्तविक असर ?
डेस्कटपमा रिफ्रेश गर्ने जुन आइकन हुन्छ, यसमा केही सामान्य कामबाहेक अरू केही हुँदैन । यसले र्‍याम रिफ्रेश हुँदैन । रिफ्रेश गर्दा डेस्कटपमा देखिएको कुनै पनि स्लो हुने समस्या समाधान हुँदैन । यसले कम्प्युटरको कार्यसम्पादनमा कुनै पनि असर गर्दैन ।

किन राखिन्छ रिफ्रेश टूल ?
रिफ्रेश टूल कम्प्युटरमा रि–डिस्प्लेका लागि काम लाग्छ । कहिलेकाहीँ डेस्कटपका आइकनहरूमा परिवर्तन गर्दा तत्काल देखिँदैनन् । यस्तो अवस्थामा भने यो टूलले काम गर्छ । यो टूल प्रयोग गरेमा सबै आइकन डेस्कटपमा देखिन्छन् । साथै, तपाईंको आइकनलाई अल्फाबेटअनुसार मिलाउन पनि यो टूलको प्रयोग गर्न सकिन्छ । कुनै नयाँ आइकन डेस्कटपमा राखेमा यो सबैभन्दा तल आउँछ, यस्तोमा त्यसलाई अल्फाबेटअनुसार मिलाउन रिफ्रेश टूलको प्रयोग गर्नु जरुरी हुन्छ ।

किन गर्छन् लगातार रिफ्रेश ?
विण्डो क्लबका अनुसार रिफ्रेश गर्ने मानिस कम्पल्सिभ डिसअर्डरबाट प्रभावित भएका हुन्छन् । यस्ता मानिस विनाकुनै कारण सामग्रीको जाँच गर्ने हुन्छन् । यो समस्या सामान्य मानिसलाई मात्रै नभई कम्प्युटर इञ्जिनीयरहरूलाई पनि हुने गरेको पाइएको छ । विण्डो क्लबका अनुसार यो कुनै खास काम नभएकाले यसलाई रोक्नु नै उपयुक्त हुन्छ । यदि तपाईंलाई पनि यस किसिमको बानी छ भने यसलाई बेलैमा रोक्नुहोस् । किनकि, यसले तपाईंको समय मात्र बर्बाद गरिरहेको हुन्छ ।
abhiyan.com.np