कमोडिटी फ्युचर्समा कसरी लगानी गर्ने ? (लगानी गर्दा ध्यानदिनुपर्ने टिप्सहरु सहित)

आरपी पौडेल, बैंकिङ खबर  / कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ ।

कमोडिटी फ्युचर्समा लगानी कसरी गर्ने ?
फ्युचर्स कन्ट्राक्टमा लगानी गर्न कमोडिटीज फयुचर्स एक्सचेञ्जको ब्रोकर फर्ममा गएर खाता खोल्नुपर्छ । खाता खोल्दा ब्रोकरले ग्राहकलाई फ्युचर्स कारोबारमा नोक्सानी हुन सक्ने कारोबारबारे आफू जानकार रहेको उद्घोष गरेको कागजमा हस्ताक्षर गर्न लगाउन सक्छ । यसरी खोलिएको खातामा तोकिएको रकम जम्मा गर्नुपर्छ । त्यो रकम कमोडिटी, ब्रोकर वा एक्सचेञ्जको नियमअनुसार कम वा धेरै हुन सक्छ । कन्ट्राक्टको बजार मूल्य बढ्यो भने तपाइँको खाताको मूल्य बढ्छ भने कन्ट्राक्टको मूल्य घट्दा खाताको मूल्य पनि घट्छ । कन्ट्राक्टको मूल्य घट्यो भने तपाइँलाई ब्रोकरले ‘मार्जिन कल’ पठाउँछ । मार्जिन कलपछि तपाइँले आफ्नो खातामा रकम थप्नुपर्छ । रकम थप्न नसकेमा तपाइँको स्थान रद्द हुन्छ । तपाइँले पहिले जम्मा गरेको रकम गुम्न पुग्छ । समग्रमा, कमोडिटी मार्केटमा लगानी गर्दा यी कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ :

  • कमोडिटी फ्युचर्स कारोबार गर्दा सतर्कता अपनाउने ।
  • विज्ञहरुको सल्लाह सुझावलाई बराबर महत्व दिने ।
  • विभिन्न वेबसाइटमा भएका लगानी मन्त्रका बारेमा सचेत रहने ।
  • आधिकारिक वेबसाइट, टेलिभिजन मात्र प्रयोग गर्ने ।
  • जथाभावी आउने इमेलका बारेमा सचेत रहने ।
  • सल्लाह सुझाव दिने क्लियरिङ मेम्बर, ब्रोकरमा विश्लेषणको वास्तविकताको जाँच गर्ने ।
  • आफूले लिने जोखिमको मात्राको निर्धारण गर्ने ।
  • नाफा बुक गर्ने र सँधै अगाडि रहने ।

आफूसँग केके चाहिन्छ ? 
कमोडिटी बजारमा लगानी गर्न तपाइँसँग लगानी गर्ने रकमका साथै कम्प्युटर र इन्टरनेट कनेक्सन हुनुपर्छ ।
कमोडिटी बजारको बारेमा राम्रो जानकारी पनि हुनुपर्छ । यसका लागि विभिन्न पुस्तक, तालिम र वेबसाइट सहयोगी हुन सक्छन् ।

कमोडीटी फ्युचर्सको विश्व इतिहास 
कमोडिटीमा फ्युचर्स कारोबार प्राचीन दार्शनिक थेल्सले शुरू गरेको पाइन्छ । थेल्सले एउटा यस्तो विशेष सूत्र विकास गरेका थिए, जसको सहायताले सो समयमा जैतूनको भविष्यको मूल्य अनुमान गरेर त्यसमा लगानी गरी मुनाफा आर्जन गरेका थिए । यसलाई दार्शनिक ‘एरिस्टोटल’ ले आफ्नो पुस्तक ‘पोलिटिक्स’ मा समेत उल्लेख गरेका छन् । तर पहिलो आधुनिक कमोडिटी फ्युचर्स एक्सचेञ्ज जापानको ओसाकामा रहेको ‘डोजिमा राइस एक्सचेञ्ज’लाई मान्ने गरिएको छ । त्यसपछि अमेरिकामा सन् १८४८ मा ‘सिकागो बोर्ड अफ ट्रेड’ (सीबीओटी) स्थापना भएको थियो ।

अहिले सबैभन्दा ठूलो कमोडिटी फ्युचर्स एक्सचेञ्जमा ‘सिकागो मर्कण्टाइल एक्सचेञ्ज’ पर्छ । सिकागो मर्कण्टाइल एक्सचेञ्ज सन् १९१९ मा स्थापना भएको हो । सन् १९७० को दशकमा आएर कमोडिटी डेरिभेटिभमा पनि कारोवार शुरू भयो । १९७० को दशकबाटै कमोडिटीको कारोबारमा उच्च प्रविधिको प्रयोग बढ्न थालेको हो । हाल विश्वभर कमोडिटी कारोबार अत्याधुनिक कम्प्युटरबाट स्वचालितरुपमा इण्टरनेटबाट हुने गर्छ । भविष्यको कुनै निश्चित समयमा वस्तु तथा सम्पत्ति हस्तान्तरण गर्ने गरी वा नगदै हिसाबकिताब गर्ने गरी आजै मूल्य तोकेर गरिएका सम्झौतालाई डेरिभेटिभ भनिन्छ । यस्ता सम्झौताहरू वस्तु तथा सम्पत्ति किनबेच गर्नमात्र नगरी अन्य वित्तीय सम्पत्तिहरू जस्तै शेयर, ऋणपत्र, ब्याज घरजग्गा आदि हस्तान्तरण वा किनबेच गर्न पनि गरिन्छ । यस प्रक्रियामा जुन वस्तुको सम्झौता गरिन्छ त्यसलाई त्यही वस्तुको डेरिभेटिभ भनिन्छ ।

bankingkhabar

https://www.youtube.com/watch?v=8A4wdQihRIc

Stock market ideas in Nepali language