tiger

कथा: बाघको गुफा र तीन डाक्टर

धेरै दिनदेखि भोकाएको एउटा बाघको गुफा भित्र तीनजना डाक्टर अकस्मात छिर्न पुगेछन् । तीन मध्ये एक जना गाइनेकोलोजिस्ट , एकजना जनरल सर्जन र अर्काचाहिँ फिजिसियन थिए। राजु, अब भन त को चाहिँ गुफाबाट बाहिर निस्कियो होला? “

बिहानीको जनरल ओपीडीमा सधैँको जस्तो आज पनि भीडभाड नै थियो। बिरामी, बिरामीका आफन्त, डाक्टर, नर्सिङ स्टाफ र अझ त्यसमथि विद्यार्थी । झट्ट हेर्दा वातावरण कोलाहलमय   देखिन्थ्यो। तर यस्तै परिस्थितिमा मनिषको  दिमागमा भने  एउटा प्रश्न फुर्यो अनि त के चाहियो र उसलाई। साथीहरूलाई एउटा कुनामा जम्मा गर्यो अनि सोधिहाल्यो। एकछिन सबै अकमकिए। राजुले सबभन्दा पहिले मुख खोल्यो- सायद सर्जन निस्कियो होला ।उसँग ब्लेड, कैँची सबै हुन्छ। बाघको हलाल गर्न उसैले सक्छ। होइन, होइन बाघ हो की बघिनी पहिला त्यो खुलाउनु पर्यो। समिरले मनिषलाई बिचमै रोक्यो – ‘बघिनी भए गाइनेकोलोजिस्टलाई सजिलो हुन्छ।’

सायद अलि पर बिरामी जाँचिरहनु भएको म्याडमको कानमा पनि  छलफलका यो अंश परेछ क्यार, मुसुक्क मुस्कुराउँदै हुनुहुन्थ्यो । तर त्यस्तो भीडभाडमा पछाडी फर्केर विद्यार्थीलाई हल्ला नगर भन्ने टाइम नै उहाँसँग कहाँ थियो र! सरकारी अस्पतालको जनरल ओपीडी, त्यसमाथि म्याडमको पालो भनेपछि कति बिरामी आउँछन्, त्यसको लेखाजोखा नै गर्न सकिन्न।

सरिता दिदी सिन्धुलीदेखि आएकी थिइन्। एकैछिनको वार्तालाप पछि म्याडमले ओपीडी कार्डमा लेख्न थाल्नु भयो। चिफ कम्प्लेन- अमिनोरिया फर टु मन्थ (अर्थात् महिनावारी नभएको दुई महिना)। सरिता दिदिले पहिलै दुई छोरी जन्माइसकेकी थिइन् । त्यसपछि भने लगातर दुईवटा गर्भ खेर गए वा खेर पठाइयो । त्यसको रहस्य सरिता दिदीको आँखामा लुकेको थियो, जुन म्याडमले मात्र सुटुक्क पढ्नुभयो। तर के कुराचाहिँ छर्लङ्ग थियो भने पटकपटकको गर्वले उनलाई निकै कमजोर बनाइसकेको थियो। त्यसैले त यसपटक भने गर्व रहेको शंका लाग्न साथ उनका श्रीमानले नै काठमाडौ पठाएर कोही आफन्तकोमा बसेर राम्रोसँग चेकअप गर्न बन्दोबस्त मिलाईदिएका थिए।

म्याडमले सरिता दिदीलाई थोरोल्ली जाँच गर्नु भयो। आँखाको डिलमा शरीरमा रहेको रगतको मात्रा हेर्नुभयो। छातीमा स्टेथ राखेर मुटुको अवस्थाबारे बुझ्नुभयो।  भित्र कोठामा लगेर पाठेघरको जाँच गर्नुभयो अनि रगत, पिसाब र अल्ट्रासाउन्ड जाँच गरेको रिपोर्ट लिएर अर्को पटक आउने सल्लाह दिनुभयो। सरिता दिदी पनि आफ्नो गर्भावस्थाबारे सम्पूर्ण कुरो लेखिएको गर्भवती कार्ड लिएर मक्ख पर्दै आफन्त कहाँ फर्किइन्।

कार्डमा लेखिएबमोजिम फोलिक एसिड चक्की खाँदै गर्दा उनको कानमा म्याडमका वाणीहरु गुन्जिरहन्थे – ‘यसले चाहिँ तपाइको हुर्कदै गरेको बच्चाको विशेष गरी दिमाग र स्नायुको विकासमा सहयोग पुर्याउँछ। नियमित खानुहोला।’ कहिलेकाहिँ त उनी उत्तेजित भएर एकैचोटी दुइटा चक्की खान खोज्थिन् ताकी अब जन्मिने उनको सन्तानको विकास राम्रोसँग भएको होस् र पहिलेका दुई छोरी जस्तै अपाङ्ग नजन्मियोस्। तर एकैछिनमा आफूले आफैँलाई सम्हाल्थिन् अनि म्याडमले भनेअनुसार नै गर्थिन्।

दोस्रोपटक अस्पताल पुग्दा उनको गर्व १२ हप्ताबाट उकालो लागिसकेको थियो। अहिलेसम्म प्रेसर नर्मल थियो, रगतमा सुगर सन्तुलित मात्रामा नै थियो अनि पिसाब वा रगतमा कुनै इन्फेक्सन देखिएको थिएन।यसपटक भने म्याडमले पेटमा पनि छामछुम पारेर जाँच गर्नुभयो अनि फोलिक एसिड बन्द गरेर आइरन- क्याल्सियम खाने सल्लाह दिनु भयो।

सायद गर्भावस्थाको सोर्हौँ हप्तामा थिइन् सरिता दिदी। एकदिन अचानक पेटमा बच्चा चलेको महसुस गरिन्। उनलाई त्यो क्षण औधी खुसी लाग्यो। हतारहतार आफ्नो श्रीमानलाई टेलिफोन गरेर सुनाइन् अनि दिनभर फुरुङ्ग परिरहिन्। त्यस दिन उनलाई  आफ्नी आमाको पनि औधी याद आयो। कति मिहिनेतले उनलाई जन्माइन् अनि कति दुख-कष्टले हुर्काइन्। फेरि आफ्ना स–साना छोरीहरुलाई पनि सम्झिइन्। आमा नभएको कुनै एउटा परिवारको कल्पना गरिन्। उफ्, कति अपुरो अनि छरपस्ट र लथालिङ्ग हुन्छ आमाबिनाको घर।

उनको लागि यो गर्व अति नै महत्वपूर्ण थियो। त्यसैले त उनी म्याडमले भनेको एकएक कुरा अक्षरस पूरा गर्थिन्। टीटी खोप लगाइन्, भनेकै समयमा अस्पताल गइन् अनि आइरन-क्याल्सियम ट्याबलेट निरन्तर खाइरहिन्। उनलाई म्याडमले भनेका सबै कुरा याद थिए जस्तै रगत बग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, आँखा धमिलो देख्ने आदि भएमा तुरुन्तै अस्पताल जानुपर्छ भन्ने कुरा उनलाई कन्ठस्थ नै थियो।

जतिजति दिनहरु बित्दै थिए, सरिता दिदीका प्रतीक्षाका पलहरु नजिकिदै थिए।

यता मनिष र उसका साथीहरूले भने गाइनेको पोस्टिङ सक्काएर, डर्मा, डेन्टल हुँदै साइक्याट्रिसम्म पढ्न भ्याइसकेका थिए। सधैं ठ्ट्यौला प्रश्न गरिरहने मनिष, त्यो दिन भने गम खाए जसरी मौन बसिरहेको थियो। राजुले आइस ब्रेक गर्यो- “के हो यस्तो दिनभर पूरा चुपचाप, लभ- सभ पर्यो कि क्या हो हाम्रो देवदासको?”
‘लभ होइन यार, ममीले दिनदिनै फोन गरिरहनुभाछ, एकदम गार्हो भयो रे। असाध्यै पेट र ढाड दुख्छ रे अनि आजभोलि त ब्लिडिङ पनि भइराखेको छ रे’।

‘छिटो बोलाएर जँचाइदे, उसो भए।’
‘अँ त्यसै गर्नु पर्ला।’

काठमाडौ आइपुग्दा मनिषकी आमा त्यही समस्याका कारण दुई पाउकी भइसक्नु भएको थियो। मनिष आमालाई लिएर हतारिँदै फेरि म्याडमकोमा नै पुग्यो। म्याडमले सम्पूर्ण जाँच गराउनु भयो। अल्ट्रासाउन्ड, साइटोलोजी र अरु सबै रगत, पिसाबको रिपोर्ट आउन एकहप्ता जति लाग्यो।

उसले सामान्य इन्फेक्सनको शंका गरेको थियो तर रिपोर्ट हेरिसकेपछी उ खङ्गरङ्ग भयो। म्याडमले पनि चाँडो भन्दा चाँडो पाठेघरको अपरेसन गर्ने सल्लाह दिनुभयो। उसले  सबैकुरा गएर आमालाई बतायो अनि यस शल्यक्रियाका बारेमा आफूले जाने जति सरल भाषामा सम्झाइदियो। मनिषका बुवा, भाइदेखि बुढा भएका हजुरबुबा–हजुरामासमेत चिन्ताले आकुलब्याकुल हुनुभएको थियो। सायद हाम्रो घर, परिवार अनि समाजका असली खम्बा भनेका महिला नै हुन्।

मनिषले धैरैवटा हिस्टेरेक्टोमी (पाठेघरको शल्यक्रिया) देखिसकेको छ। उसले एकदिन सोचेको पनि थियो, मेडिकल लाइनमा आएपछि त यत्तिका मृत्युहरु देखियो। असंख्य पिडाहरु नजिकबाट हेरियो। पोस्टमार्टम गरियो। इमेर्जेन्सीमा अनेकन असामान्य अवस्थाको सामना गरियो अब त समवेदना भन्ने चिज यो मुटुमा कहिँ-कतै  छैन होला। तर अहँ, आफ्नी आमाको पेटमा छुरा चल्ने कुराले चाहिँ उसलाई सम्झदा पनि चसक्क गर्थ्यो। फेरि एकछिनपछी  त्यो ब्लेड म्याडमको हातमा भएको कल्पना गर्थ्यो जसको सम्झनाले पुनः उसको आँत सुक्थ्यो।

‘आमा, उठ्नोस् त। म मनिष, चिन्नु भो मलाई?’

पोस्ट अपरेटिभ वार्डमा ल्याएको निकै बेरपछी मात्र उहाँको पूरा होस खुल्यो। अपरेसन सक्सेस्फुल्ली गरिसकेर, म्याडम निस्किसक्नु भएको थियो। आमालाई रुघ्ने चक्करमा, म्याडमलाई थ्यान्क यु भन्न बिर्सेकोमा मनिषलाई लाज लाग्यो र मनमनै भएपनि  धेरै–धेरै धन्यवाद दियो। त्यसको केही दिनमा त मनिषकी आमा ठमठम हिँडेर घर जानुभएको थियो।

एकचोटि मनिष क्यान्टिनबाट निस्केको मात्र के थियो, म्याडमलाई हतारिएर कुद्दै गरेको देख्यो। हुन त मनिषलाई अस्पताल भरिमै सबभन्दा दौडिरहने डिपार्टमेन्ट गाइनेकोलोजी हो जस्तो लाग्थ्यो। तर पनि आज भने म्याडमको चालमा केही फरक अवश्य थियो। म्याडम सिधै लेबर रुममा छिर्नुभयो। मनिष पनि उहाँलाई पछ्याउँदै – पछ्याउँदै त्यतै गयो। ओहो, भित्र त अत्यन्त अत्यासपूर्ण वातावरण बनिसकेको रहेछ। भएछ के भन्दा, बच्चाको टाउको निस्कनु पर्नेमा सुरुमै फुत्त हात पहिला बाहिर आएछ। त्यस्तो अवस्थामा सबैजना के गर्ने भन्नेमै अलमल परेपछि तुरुन्तै म्याडमलाई बोलाइएको रहेछ।

बच्चाको निस्किएको हात झनझन निलो भइरहेको थियो। आमाको मुखबाट प्रसव वेदनाको चित्कार डेलिबरी रुमभरि गुन्जिरहेको थियो। सबै एक-अर्काको मुखामुख गरिरहेका थिए। त्यस्तोमा म्याडमले हठात् निर्णय गर्नु भयो, पाँच मिनेट भित्र सिजर (अपरेसन ) गरेर बच्चा निकाल्नपर्छ। अन्यथा बच्चा र आमा दुवैलाई कुनैपनि बेला जे पनि हुन सक्छ। तुरुन्तै अपरेसनको तयारी भयो।

मनिषले त्यसै मौकामा बिरामीको फाइल खोलेर हेर्यो। सुरुमै लेखिएको थियो- ‘सरिता लामा, सिन्धुली’।

सरिता दिदी अर्धचेत थिइन्, आधा शरीर मात्र लट्याइएको अवस्थामा । उनले झलझली आफ्नो घर सम्झिइन्। कतिखेर आमा आउलिन् भनेर कुरेर बसिरहेका आफ्ना छोरीहरुलाई सम्झिइन्। आफ्नी श्रीमतीको प्रतीक्षा गरिरहेका लामा दाइलाई सम्झिइन्। नौ-नौ महिनासम्म गर्भमा हुर्काएको आफ्नो सन्तानलाई सम्झिइन्।

उनलाई अब बाँचिन्छ जस्तो पटक्कै लागेन र अन्तिमपटक संसार हेर्नका लागि सकिनसकी गरेर आँखा उघारिन्। तर आँखा उघार्दा त म्याडम निकै चाँडो-चाँडो गरि आफ्ना  हातहरु उनको शरिरमाथी  नचाइरहनु भएको थियो।

केही क्षणमा त अपरेसन थिएटर बाहिर उभिइरहेको मनिषले च्याँ गरेर बच्चा रोएको आवाज सुन्यो।

त्यति नै बेला उसले आफ्नो पोस्टिङको पहिलो दिनको प्रश्न सम्झियो। उसले बाघको गुफाबाट को निस्कियो होला भन्ने प्रश्नमा उत्तर दिएको थियो- जब भोकाएको बाघको गुफाभित्र गाइनेकोलोजिस्ट, जनरल सर्जन र फिजिसिएन पसे, अन्त्यमा त्यस गुफाबाट बाघ मात्र बाहिर निस्कियो।’

तर उसलाई आज जवाफ फेर्न मन लागेको छ। भन्न मन लागेके छ– सबै बिधाको आ-आफ्नै महत्व छ तर कुनै कारणवश कोही एक मात्र निस्कने परिस्थिति आइहाल्यो भने चाहिँ गाइनेकोलोजिस्ट नै बाहिर निस्कन पर्छ किनभने गाइनेकोलोजिस्टले हाम्रा आमाहरुलाई बचाउँछ्न् र जबसम्म आमाहरु बाचिँरहन्छ्न् तबसम्म संसार बाँचिरहन्छ।

दाहाल चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबिबिएस अध्ययनरत छन् । 

swasthyakhabar