tortoise

कछुवा र खरायोः एक कथा पाँच सन्देश

राजेन्द्र दाहाल

मेरो नेपाली, कक्षा १ को पाठ ५ मा ‘खरायो र कछुवाको दौड’ सम्बन्धी परम्परागत कथालाई चित्रमा प्रस्तुत गरिएको छ । खरायो छिटोछिटो हिंड्ने हुँदाहुँदै पनि हेलचेक्र्याईंका कारण कछुवासँग दौड हार्छ । ‘विस्तारै तर निरन्तर हिंडिरहनेले दौड जित्छ’ भन्ने पाठ (लेसन) पढाएर त्यो कथा टुङ्गिन्छ । करीब ५० वर्षअघि हामीलाई पहिलो पटक यो कथा पढाउनुहुने शिक्षकले पनि त्यही निष्कर्ष सुनाउनुभएको थियो । अर्थात् हाम्रा पाठ्यपुस्तकमा कछुवा र खरायोको कथा पहिलेकै रूप र सन्देश बोकेर स्थिर रूपमा अद्यापि दोहोरिइरहेको छ— हजुरबाको पालादेखि नाति–पनाति पुस्तासम्म पनि ।

Learn English - Dew Meaning in English to Nepali below


तर कछुवा र खरायो सरह कथा र त्यसको स्वरूप एवं सन्देश पनि स्वाभाविक रूपमै गतिशील हुन्छ । समय र परिवेश अनुरूप कथा र तिनले बोक्ने सन्देश पनि बदलिंदै जान्छ । सन् १९७५ मा भारतमा इन्दिरा गान्धीले आपत्काल लागू गरेको बेला हिन्दीका प्रख्यात व्यंग्यकार शरद जोशीले यो कथाको दौड जित्ने कछुवालाई ‘प्रतिगामी’ ठहर गर्दै खरायोमार्फत जेलमा कोचिदिएका थिए ।
अन्य समाजमा कछुवा–खरायोका कथा झ्नै रोचक र सार्थक ढंगबाट रूपान्तरित हुँदै गएको पाइन्छ । त्यसमा चाखलाग्दो पक्ष के छ भने पछि विकसित भएका हरेक कथाले कछुवा र खरायो को पहिलो अर्थात् मूल कथालाई आधार बनाएका छन् । हेरौं केही नमूना—

आधुनिक कथा–१
कछुवासँग पराजित भएपछि खरायो अति नै दुःखी हुन्छ । तत्काल आत्मसमीक्षा गर्छ । अति विश्वास र लापर्वाहीका कारण आफूले दौड हारेको निष्कर्ष निकाल्दै आइन्दा अलिकति पनि हेलचेक्र्याईं नगर्ने संकल्पका साथ कछुवाकहाँ पुगेर फेरि एकपटक दौडने प्रस्ताव राख्छ । पहिला जितिसकेको कछुवाले दौडिने प्रस्ताव सहजै स्वीकार गर्छ । दुवै दौडिन्छन् । तर, यस पटक खरायो बाटोमा सुुत्दैन । उसले सजिलै दौड जित्छ ।
यो कथाको पाठ हो— विस्तारै भए पनि हिंडिरहनु राम्रो हो (पहिलो कथाको कछुवाजस्तो) तर भरपर्दो ढंगबाट छिटोछिटो हिंड्नु झ्नै राम्रो हो ।
कथा यतिमै सकिंदैन ।
आधुनिक कथा–२
यस पटक आत्मसमीक्षा गर्नुपर्ने स्थितिमा कछुवा थियो; किनभने दौड उसले हारेको थियो । कछुवाले सोच्यो– यो खरायोले निर्धारित गरेको रुट र शर्तमा दौडिएर मैले अब जित्न सक्दिनँ । त्यस अनुसार कछुवाले दौडको निम्ति वैकल्पिक रुट निर्धारित ग¥यो । खरायोले नयाँ रुट बारे खासै प्रश्न गरेन । पुनः दुवै दौडिन थाले । दौडमा स्वाभाविक रूपमै खरायो अगाडि–अगाडि थियो । तर, गन्तव्यमा पुग्नुभन्दा केही किलोमिटर वरै खरायो रोकियो । त्यहाँ ठूलो खोलो बगिरहेको थियो । पछिपछि रहेको कछुवा आफ्नै गतिमा हिंडिरहेको थियो । उसले पौडिएर त्यो खोलो सहजै त¥यो र गन्तव्यमा पुग्यो । खरायो हेरेको हे¥यै भयो ।यो कथाको पाठ भनेको, सर्वप्रथम आफू र आफ्नो क्षमता–दक्षता के हो भन्ने बुझनुपर्छ, अनि त्यस अनुसार प्रतिस्पर्धाको मैदान रोज्नुपर्छ ।
तर कथा अझै सकिएको छैन ।

आधुनिक कथा–३
तीन–तीन पटकसम्म आपसमा प्रतिस्पर्धा गरेका कारण यहाँसम्म आइपुग्दा कछुवा र खरायो एकअर्कालाई राम्ररी चिन्ने–बुझने मात्र नभई घनिष्ट मित्र नै भइसकेका थिए । त्यसैले, यसपटक रणनीति बनाउन उनीहरू सँगै बसे । उनीहरू दुवैको जित कसरी सुनिश्चित गर्न सकिन्छ भनेर निकै घोरिए । अन्त्यमा उनीहरूले अबको दौडलाई अन्तिम बनाउने र त्यसमा उनीहरू व्यक्तिगत होइन टीमका रूपमा सहभागी हुने निधो गरे । दौड शुरू भयो । पूर्व सहमति अनुसार खरायोले कछुवालाई पिठ्यूँमा बोकेर नदीको किनारसम्म पु¥यायो । त्यसपछि कछुवाले खरायोलाई आफ्नो पिठ्यूँमा राखेर पौडिंदै नदी पार गरायो । पारि पुगेपछि फेरि खरायोले कछुवालाई बोक्यो र दुवैजना सँगै गन्तव्यमा पुगे । दुवैले जिते, कसैको पनि हार भएन ।


यो पछिल्लो कथाको पाठ हो— व्यक्तिगत रूपमा योग्य र दक्ष हुनु राम्रो हो, तर जबसम्म टीममा काम गर्न र अरूहरूको समेत क्षमताको उपयोग गर्न समक्ष होइँदैन, कहिल्यै पनि उच्चतम र अधिकतम प्रतिफल हात पार्न सकिंदैन । कतिपय परिस्थितिको सामना सामूहिक प्रयत्न अर्थात् टीमवर्कबाट मात्रै गर्न सकिन्छ ।
यो कथामार्फत कछुवा र खरायोले हामीलाई एउटा मात्रै होइन, धेरै वटा कुरा सिकाउन सक्छन् भन्ने माथिको विवरणबाट स्पष्ट हुन्छ । तर, हामीले समय र परिवेश अनुरूप कथामा कल्पनाशीलता थप्न सकेनौं भने पोखरीको पानी जस्तो कथा एकै ठाउँमा जमिरहन्छ र त्यसले सान्दर्भिकता र रोचकता गुमाउन थाल्छ ।
अहिलेसम्म हाम्रा पाठ्यक्रम÷पाठ्यपुस्तकले ‘कछुवा र खरायो’ कथामार्फत एउटा मात्र सन्देश (पाठ) प्रदान गर्दै आएका छन् । जबकि, थोरै मात्र कल्पनाशील र जाँगरिलो हुने हो भने उक्त कथाबाट पाँच वटा सन्देश सहजै दिन सकिने देखिन्छ । उक्त कथाले सिकाउने समग्र पाठलाई निम्न बुँदामा समेट्न सकिन्छ–
१.निरन्तर छिटो हिंड्नेले निरन्तर तर ढिलो हिंड्नेलाई जहिले पनि पछि पार्छ ।
२. आफ्नो क्षमता र दक्षता भएको विषय एवं विधामा मात्र प्रतिस्पर्धा गर्न अग्रसर हुनुपर्छ ।
३. उपलब्ध हुनेसम्मको साधनस्रोत जुटाएर एउटा टीमको रूपमा काम गर्नेहरूले व्यक्तिगत प्रतिस्पर्धीहरूलाई जहिल्यै पछि पार्छन् ।
४. असफल भइयो, हारियो भनेर प्रयास गर्न छोड्नुहुँदैन ।
५. हामीले प्रतिस्पर्धा गर्ने परिस्थितिसँग हो, प्रतिद्वन्द्वीसँग होइन भन्ने तथ्य सधैं ख्याल गर्नुपर्छ । आधुनिक कथा–२ मा खरायो कछुवासँग होइन, खोलो भएको रुट (परिस्थिति) का कारण हारेको हो ।

सवै स्केचहरू मेरो नेपाली कक्षा १ बाट लिएको हो । 

teacher.org.np