गर्मी लाग्दै गएपछि मानिसहरुको आवश्यकतामा पनि परिवर्तनहरु आउँछन्। जति गर्मी भयो मानिसहरु उती नै फ्रिज, एसी, कुलरतर्फ आकर्षित हुन्छन्। तर ती समाग्रीहरुको बारेमा जानकारी नै नभई किन्दा कहिलेकाही समस्या पनि आउन सक्छ। त्यसैले एसी किन्नुअघि निम्न कुराहरुमा विचार पुर्याउनुपर्छ ।
साइजः
नयाँ एसी किन्दा सबैभन्दा ध्यान दिनुपर्ने त्यसको साइज हो । कोठा वा हलको साइज अनुसार एसी छान्नुपर्छ। तर यहाँ साइज भन्नाले ठूलो वा सानो भन्ने होइन की त्यसको क्षमता भन्ने बुझ्नुपर्छ। ठूलो हलमा थोरै क्षमताको एसी राख्दा केही समयपछि त्यसले काम गर्न छोड्छ तर बिद्युत् भने खपत भइरहन्छ।
क्षमताः
एसीको क्षमता कोठाको वर्गफुटका आधारमा तय गर्दा सजिलो हुन्छ । यदि कोठा ९० वर्गफुटको भए त्यहाँ ०.८ टनको एसी ठीक हुन्छ। त्यस्तै ९० देखि १२० वर्गफुटसम्मका लागि १.० टन, १२० देखि १८० वर्गफुटसम्मका लागि १.५ टन र १८० वर्गफुट भन्दा बढीका लागि २.० टनको एसी ठीक मानिन्छ।
बिद्युत् खपतः
एसी किन्दा त्यसमा अंकित तारा (स्टार) लाई ध्यान दिनुपर्छ। यी ताराहरुले कति बिद्युत् खपत हुन्छ भन्ने जनाउँछ। ४ वा ५ तारा भएको एसी किन्दा कम बिद्युत् खपत हुन्छ ।
विन्डो, स्प्लिट् वा पोर्टेबलः
पहिले बजारमा विन्डो एसी मात्र थियो तर हाल विकल्पमा स्प्लिट र पोर्टेबल पनि रहेका छन्। विन्डो एसि सस्तो छ तर यसको आवाज बढी आउँछ। सानो कोठाको लागि यो ठीक हुन्छ ।
स्प्लिट्मा भने बढि हावा सम्प्रेषण हुने हँुदा ठूलो कोठा तथा हलको लागि उपयोगी हुन्छ।
पोर्टेबल एसी सुविधा अनुसार कोठाको जुनसुकै स्थानमा राख्न सकिन्छ ।
फिल्टर, एयर फ्लो, स्विंग-
कुनै पनि एसिमा राम्रो फिल्टर हुनु जरूरी छ, किनकि फिल्टर राम्रो हुँदा सास फेर्न पनि सजिलो हुन्छ। जुन कोठामा एसी छ, त्यहाँ भेन्टिलेसन बन्द हुनाले सास फेर्नका लागि फिल्टर धेरै जरूरी हुन्छ ।
एयर फ्लोले कोठा कति समयमा चिसो गराउने भन्ने बताउँछ । एसिमा कुलिङ स्पीड तय गर्ने सुविधा हुनु जरुरी हुन्छ ।
एसीमा स्विंग फीचर पनि हुन जरूरी छ ।
टाइमर र सेन्सरः
टाइमर र सेन्सर भएको एसी किन्नु राम्रो हुन्छ । टाइमरको मार्फत एसीलाई निश्चित समयमा खोल्न र बन्द गर्न सकिन्छ। यसका फाइदा भनेको बिजुली को खपत रोक्नु हो। सेन्सरको काम कोठाको तापक्रम निश्चित गर्नु हो। साथै यसले मानिसमा केन्द्रित भएर हावा दिन्छ ।
भोल्टेज स्ट्याबलाइजरः
एसिसंग भोल्टेज स्ट्याबलाइजर हुनुपर्छ । यसका लागि प्र्रयोगकर्ताले जति टनको एसी किनेको हो त्यति नै पावरको भोल्टेज स्ट्याबलाइजर लिनुपर्छ।