एक पटक रोपेपछि छ वर्षसम्म फलदायी : समृद्ध बन्न यसरी गर्नुस् ‘एलोभेरा खेती’

खेतीबाली लगाउन छोडेपछि खेर गइरहेको बाँझो जमिनमा घिउकुमारी (एलोभेरा) खेती गरेर म्याग्दी मौवाफाँटका एक पूर्वलाहुरेले मनग्य आम्दानी गरेका छन् । पिप्ले गाविस–९, मौवाफाँटका सुवेदार जीतबहादुर पाईजाले गाउँको छेउमा खेती गर्न छोडेपछि बाँझो पल्टेको तीन रोपनी पाखोबारी भाडामा लिई घिउकुमारी खेती गरेका हुन् । उनको वारीमा अहिले ६ हजार घिउकुमारीका बोट छन् । पाईजाको खेतमा मात्र होइन, घरको करेसाबारी, आागनका डिल तथा छेउकुना जताततै घिउकुमारी रोपेका छन् ।

‘थोरै लगानीमा धेरै वर्षसम्म राम्रो आम्दानी लिन सकिने घिउकुमारी खेतीमा राम्रो आम्दानी छ । पात बेचेर वार्षिक ५६ हजार र जुस बिक्री गरी पाँच हजार देखि ६० हजार सम्म आम्दानी भइरहेको छ’ अगुवा कृषक जीतबहादुर पाईजाले भने, ‘खनजोत गर्नु पनि नपर्ने, तीन महिनामा पात टिप्ने बेलामा गोडमेल र्गयो । न किरा लाग्ने डर न गाईवस्तुले खाइदेला भन्ने पीर ।’

बहुउपयोगी औषधीजन्य वनस्पति घिउकुमारी खेती सजिलो र बहुवर्षीय हो । बेर्ना रोपेपछि ३ महिनादेखि ६ वर्षसम्म लगातार प्रतिफल लिन सकिन्छ । बारीमा रोपेपछि दुई–तीन पटक गोडमेल र कम्पोष्ट मल राख्नेबाहेक विशेष स्याहार गरिरहनु पर्दैन । पानी नजम्ने पाखोबारीमा फस्टाउने घिउकुमारी खेतीलाई सुख्खायाममा भने सिाचाई आवश्यक छ । कृषकहरुका अनुसार घिउकुमारी जुसको (आफैंले घरमा पनि बनाउन सकिने) नियमित सेवनले पाचन, मुटुरोग, छाला, मधुमेह, घाउ तथा पोलेकोमा र तौल व्यवस्थापनमा राम्रो फाइदा र्पुयाउँछ । नेपाली समाजमा परम्परादेखि नै घरको करेसाबारीमा एक दुई बोट घिउकुमारी लगाउने चलन नै छ ।

पाईजालाई घिउकुमारी खेती गर्न पाम एग्रो एण्ड वायो इनर्जी कम्पनी चितवनले प्रोत्साहन गरेको हो । उसैले चितवनबाट बिरुवा दैलोसम्म ल्यायो, खेती गर्ने तरिका र यसको उपयोगिता सिकायो तर उत्पादन भइसकेपछि भने आफैं बेपत्ता भयो । घिउकुमारी खेती गरेर अलपत्र परेका गण्डकी र धौलागिरी क्षेत्रमा १९ जना कृषक थिए । यिनै कृषक मिलेर पोखराको पार्दीमा पोखरा एग्रो हर्व एण्ड लाईफकेयर प्रालि दर्ता गरी ‘पोषिलो’ घिउकुमारी जुस उत्पादन गर्दै आएका छन् ।

शुरु वर्ष कम्पनीले सहमतिअनुसार घिउकुमारीको पात नउठाएपछि हामी कृषक अलमलमा परेका थिए । ‘अहिले बजार पुग्न कुनै विज्ञापनको गर्नु परेको छैन । बिक्री भएकै छ’ उनले भने, ‘विस्तारै मान्छेले यसको श्वास्थ्यमा फाईदा महशुस गरेपछि माग ह्वात्तै बढ्छ ।’

घिउकुमारीको पात र जुस बेचेरै पाईजाले वार्षिक ६ लाख रुपैयाा भन्दा बढी आम्दानी गरिहरेका छन् । पाईजा घिउकुमारी खेती गर्ने जिल्लाका एक्ला कृषक हुन् । घिउकुमारीको पातको प्रतिकेजी २० रुपैयाँ र जुसको प्रतिलिटर सात सय २५ रुपैयाँमा बिक्री भइरहेको छ । जग्गा भाडा वार्षिक ७ हजार, पात पोखरा र्पुयाउँदा लाग्ने ढुवानीबाहेक खर्च छैन ।

हरेक कृषकले आफूले उत्पादन गरेको घिउकुमारीलाई उद्योगमा र्पुयाउँछन् । घिउकुमारी प्रशोधन गर्छन् अनि प्याकिङ्ग गर्छन् । उत्पादित जुसको कुल मूल्यको ४५ प्रतिशत प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा र ५५ प्रतिशत कृषकले नै पाउने गरेका छन् । दुई केजी घिउकुमारीको पातबाट एक लिटर जेल निक्लन्छ । त्यही जेललाई स्वादअनुसार चिनी वा अमिलो र पानी मिसाएर मिक्सरमा राखि घोलिन्छ । जुस तयार भयो । घिउकुमारीको जुसमा कुनै केमिकल मिसाइएको छैन, मात्र यसको वास्तविक स्वाद तितो हुने भएकोले अमिलो राखेर सजिलै पिउन मिल्नेसम्म मात्र बनाइएको हो । कान्तिपूर दैनिक