अमेरिका जहाँ नयाँ व्यापारको आविष्कार हुन्छ

संयुक्त राज्य अमेरिका राजनैतिक क्षेत्रमा मात्र विश्वमा अग्रणी स्थानमा छैन, आर्थिक क्षेत्रमा पनि अग्रणी स्थानमा छ। आर्थिक क्षेत्रमा अग्रणी स्थानमा भएको हुनाले नै राजनैतिकरूपमा पनि अग्रणी स्थानमा हुन पुगेको हो। राजनैतिक र आर्थिक दुवै क्षेत्रमा नै अग्रणी स्थानमा रहेकोले अमेरिकाले यो विश्वलाई नेतृत्व प्रदान गर्ने क्षमता राखेको हो। सोभियत सङ्घको विघटन र शीतयुद्धको समाप्ति पछि अमेरिकाले एकलरूपमा विश्वलाई नेतृत्व गर्दै आइरहेको छ। विश्वको एक मात्र अप्रतिस्पर्धी महाशक्ति हुन पुगेको हो। अमेरिकाले प्राप्त गरेको यो अग्रणी स्थान आउने पचास वर्षसम्म पनि अन्य कुनै राष्ट्रले प्राप्त गर्ने सम्भावना देखिंदैन। अनुमान वा तर्क गर्नेहरू भारत, चीन वा रूसले अमेरिकाको यो अग्रणी स्थानलाई चमत्कारी किसिमले आर्थिक प्रगति गरेर विस्थापित गर्न सक्छन् भन्छन्। तर यो भनाइलाई पृष्टि गर्ने आर्थिक आधार यी राष्ट्रहरूसँग देखिएको छैन।

आर्थिक प्रगतिका लागि केवल प्राकृतिक साधन, धन सम्पत्ति भएर मात्र हुँदैन। आर्थिक प्रगतिका लागि एउटा सबल ‘बजार संस्कृति’ आवश्यक हुन्छ। रूस, चीन र भारत यी तीनै राष्ट्रहरूमा बजार संस्कृतिको अभाव छ।

भारतमा जुन किसिमले राजनैतिक क्षेत्रमा भाजपाको प्रभाव बढ्दै गइरहेको छ, त्यसै किसिमले यो मुलुक धार्मिक कलहमा फस्ने सम्भावना बढ्दै गइरहेको छ। प्रधानमंत्री नरेन्द्र मोदी स्वयं पनि एक कट्टर हिन्दूवादी नेता एवं प्रशासक हुन्।

अर्कातिर भारतमा हालै भएको लोकसभा चुनावले उत्तर प्रदेशमा जुन किसिमले एकजना पुरोहितलाई मुख्यमन्त्रीको पदमा आसीन गरायो, त्यसले भारतमा धार्मिक कट्टरता बढदै गएको यथार्थलाई पुष्टि मात्र गरेन, भारतीय समाज धार्मिक ध्रुवीकरण (हिन्दू र मुस्लिम अलग–अलग मोर्चाबन्दी) को दलदलमा भासिंदै गएको पनि पुष्टि गर्यो । भारत, उत्तरप्रदेशका नवनिर्वाचित मुख्यमन्त्री राजनीतिमा लामो सयमदेखि लागे तापनि उनको पृष्ठभूमि धार्मिक हो र उनी अहिले पनि गोरखनाथ मठका महन्थ हुन्। एक अतिवादी हिन्दू हुन्। अति कट्टर हिन्दूवादी छवि बनाएका उत्तरप्रदेशका मुख्यमन्त्री (मार्च २०१७ मा नियुक्त) योगी आदित्यनाथ (पहिलेको नाम अजय सिंह विष्ट) को राजनैतिक सफलताको धरालत कुनै राजनैतिक मुद्दा नभएर धार्मिक कट्टरता हो। र यो मुद्दाले नै उनलाई सन १९९८ देखि चर्चाको शिखरमा स्थापित गराएको छ। आदित्यनाथलाई गोरखपुर चुनाव क्षेत्रले निरन्तर (पाँचपटक) विजयश्री प्रदान गर्दै आएको छ। यसरी भारत बजार संस्कृति तर्फ होइन अति धार्मिक ध्रुवीकरणतर्फ तीव्र गतिमा लम्किरहेको छ।

चीन, भारत, रूस यी कुनै मुलुकमा पनि व्यापारिक संस्कृति छैन। चीनमा राष्ट्रिय सम्पत्तिको वितरण सन्तुलित किसिमले हुने हो, गरीब श्रमिकले उचित पारिश्रमिक वा ज्याला पाउने हो र कम पारिश्रमिक भुक्तानी गरेर सस्तोमा उत्पादन गरी विदेशी बजारहरूमा चिनियाँ उत्पादकहरूले बिक्री गर्न नपाउने हुन् भने चीनको आर्थिक प्रगति एक्कासि तल झर्न पुग्छ। रूसको स्थिति पनि राम्रो छैन। रूसको अर्थ व्यवस्थालाई कम्युनिज्मको ह्यांगओभरले अझै पनि छाडेको छैन। यस किसिमको परिस्थितिमा आर्थिक विकासमा अमेरिकालाई चीन, भारत र रूसले उछिन्ने सम्भावना टाढाटाढासम्म पनि देखिंदैन।

कुनै पनि क्षेत्र वा देश आर्थिकरूपमा ज्यादै बलियो हुनका लागि त्यहाँ धार्मिक कट्टरता होइन, बजार संस्कृतिको विकास हुन आवश्यक छ। धार्मिक कट्टरताले गर्दा देशको आर्थिक विकास तीव्र गतिमा हुँदो हो त अहिले पाकिस्तान, अफगानिस्तान, इरान सर्वाधिक धनी राष्ट्रहरूको श्रेणीमा पर्ने थिए। इरान त झन् अग्रणी स्थानमा हुने थियो, किनभने त्यहाँ राष्ट्रिय राजनीतिको सर्वाच्च पदमा धर्मगुरु अलि खुमेनी छन्। र इरानले आफूलाई इस्लामिक रिपब्लिक अफ इरान भन्छ।

उदहारणका लागि, अहिलेको यो ‘व्यापार संस्कृति’ को समयमा कसैले आफूल सञ्चालन गरेको होटलको नाम हिन्दू वा मुस्लिम होटल राख्छु भन्दैमा त्यस किसिमको होटल व्यवसायीले सफलता पाउन सक्तैन। त्यसकारण देशको आर्थिक विकास गर्नका लागि अहिले कुनै पनि राष्ट्रले धार्मिक कट्टरता होइन, व्यापारिक कुशलता हासिल गर्न आवश्यक छ। र अमरिकाले त्यही व्यापारिक कुशलता हासिल गरेको छ। अमेरिकामा न चीन वा रूसमा जस्तो कम्युनिज्मको चर्का प्रभाव छ, न भारतजस्तो धार्मिक कट्टरता नै छ। अमेरिकी समाज विश्वमा नै ज्यादै लचिलो र उदार मानिन्छ। हुन पनि अमेरिकामा विश्वका लगभग सम्पूर्ण देशका नागरिकको बसोबास छ।

अब विषय प्रवेश गरौं। व्यापारको क्षेत्रमा अमेरिकालाई कुन तत्वहरूले अग्रणी स्थानमा रहन सघाउ पुर्याए? अमेरिकाले कसरी व्यापारिक कुशलता हासिल गर्यो? अमेरिका विश्वमा नै सर्वाधिक धनी राष्ट्र कसरी हुन पुग्यो? यी प्रश्नका उत्तरहरू अति नै महत्वपूर्ण छन्। यी उत्तरहरूले नै अमेरिका एक मात्र आर्थिक र राजनैतिक महाशक्ति हुनुको अर्थ बोकेको छ।

अमेरिकालाई धनी र विश्व–आर्थिक महाशक्ति तुल्याउन मुख्यगरी तीन तत्वले महत्वपूर्ण भूमिका खेलेका छन्। ती तत्व हुन्– १. अमेरिकीहरूमा कुशल व्यापारिक सोच हुनु र व्यापारलाई राजनीतिभन्दा बढी महत्व दिनु। २. आम अमेरिकीहरूमा रचनात्मक व्यापारिक सोच भएकोले अमेरिकामा नयाँनयाँ व्यापारको विकास हुनु। ३. देशको कानुनले व्यवसायीहरूको हक र हितको बलियो संरक्षण गर्नु।

यस आलेखमा भने मुख्यगरी अमेरिकीहरूले निरन्तर नयाँनयाँ किसिमका व्यापारको विकास गर्नुलाई प्रमुखताका साथ चर्चा गर्न खोजिएको छ।

अमेरिकाले गएको सात दशकमा चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ । विज्ञान, प्रविधि, कृषि, भौतिक पूर्वाधार गरी चौतर्फी आर्थिक प्रगति गरेको छ। सर्वप्रथम मानवसहितको वायुयान वा रकेट चन्द्रमामा अमेरिकाले यसै समयमा पठाएको हो। चन्द्रमामा पहिले पुग्ने श्रेय अमेरिकाले यसै कालमा पाएको हो।

अमेरिकाले यति धेरै आर्थिक प्रगति यहाँका नागरिकहरूमा नयाँनयाँ किसिमका व्यापारको खोजी गर्ने पवृत्तिले गर्दा गरेको हो। अमेरिकीहरूले नयाँनयाँ किसिमका व्यापारको विकास एवं सृजना गर्छन् अनि विश्वका बाँकी राष्ट्रहरूले त्यसको अनुसरण गर्छन्। अर्थात् नयाँ व्यापार विकासको क्षेत्रमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। अमेरिकामा नयाँनयाँ किसिमका व्यापारहरूको विकास निरन्तर भइरहन्छ। अन्य राष्ट्रहरूले नयाँनयाँ किसिमका व्यापारको विकास गरेको विरलै देख्न पाइन्छ। भारत, नेपाल, पाकिस्तानजस्ता विकासशील राष्ट्रहरूले अमेरिकामा भएका नयाँनयाँ व्यापारको अनुसरण मात्र गर्छन्।

वर्षौदेखि चल्दै आएको व्यापारलाई नै निरन्तरता दिने काम कम गर्नु र नयाँ नयाँ व्यापारका तरिकाहरू खोज्ने कार्य धेरै गर्नु अमेरिकी समाजको विशेषता हो र सबलता पनि हो। अमेरिकामा निरन्तर नयाँनयाँ व्यापारको विकास हुने गर्दछ। अमेरिकामा नयाँनयाँ व्यापारको विकास हुने भएकोले नै अनुसन्धान र विकासको क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गर्छ। अरू मुलुकहरूमा कानुन फितलो भएको हुनाले अनुसन्धान र विकासमा सरकारले लगानी गर्नुपर्छ तर अमेरिकामा कानुन सबैमाथि एकै किसिमले लागू हुने हुनाले र लगानीकर्ताको लगानीको सरकारले संरक्षण गरिदिने हुनाले निजी क्षेत्रले अनुसन्धान र विकासको क्षेत्रमा ठूलो मात्रामा लगानी गर्छ। परिणामस्वरूप नयाँनयाँ व्पापारको जन्म हुन पाउँछ। अर्कोतिर निजी लगानीकर्तालाई स्थानीय र सङ्घीय दुवै सरकारले संरक्षण दिने कार्य गर्दछन्। अमेरिकामा यस किसिमको व्यापारिक वातावरण रहेको हुनाले नै यहाँ उबर, इबे, फेसबूक, गुगल, युट्युब जस्ता नयाँ नयाँ व्यापारको विकास भएको हो।

विश्वका बाँकी राष्ट्रहरूले परम्परागत व्यापार गर्दै आएकोमा अमेरिकाले ठीक त्यही समयमा, विपरीत किसिमले, नयाँनयाँ व्यापारको विकास गर्दै आएको छ। र नयाँ व्पापारको सृजना गरेर राम्रो आम्दानी हात पारेको छ। विगत एक दशकमा मात्र अमेरिकाले अनेक किसिमका व्यापारको विकास गरेको छ। यसरी विकसित भएका हरेक व्यापारको चर्चा गर्न यो लेखमा सम्भव नभएकोले केही प्रतिनिधि नयाँ व्यापार जुन अमेरिकामा विकास भयो, चर्चा गर्ने प्रयास गरेको छु।

फेसबूक र युट्युब अमेरिकाले विकास गरेको सर्वाधिक नौलो व्यापार हो। फेसबूक र युट्युब अहिले संसारभरिका नागरिकले प्रयोग गर्छन् ।

यदि फेसबूकलाई देश मान्ने हो भने, जनसङ्ख्याको हिसाबले चीनपछि यो संसारको दोस्रो ठूलो देश हो। यसको प्रयोगकर्ताहरूको सङ्ख्या अर्बौंमा छ। फेसबूकले व्यक्तिहरूलाई एक अर्कासँग जोडने कार्यभन्दा बढी केही पनि गर्दैन तर यसले व्यापारका अनेक अवसरको सृजना गरिदिएको छ। यति मात्र होइन, फेसबूक आम नागरिकको जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ। प्रश्न उठछ, फेसबूकजस्तो नयाँ व्यापारको तरिकाको विकास विश्वको अन्य मुलुकमा किन हुन सकेन?

युट्युबलाई पनि विश्वभरिमा अति लोकप्रिय मान्ने गरिन्छ। युट्युबले त झन् लाखौ व्यक्तिलाई आम्दानी र रोजगार दिएको छ। युट्युबले गर्दा संसारमा भएको कुनै पनि घटना तत्काल हेर्न सकिन्छ, अन्य समाचार माध्यमको प्रयोगबिना नै। संसारमा भएको कुनै पनि घटनाको फिल्म बनाएर, युट्युबमा अपलोड गरेर तत्काल विश्वभरिको दर्शकहरूलाई देखाउन सकिन्छ। युट्युबले गर्दा उत्पादक एवं बिक्रेताहरूले प्रभावकारी किसिमले जुनसुकै मुलुक र क्षेत्रमा पुगेर आफ्ना वस्तुहरूको विज्ञापन गर्न पाएका छन्। यो आधुनिक युगको युट्युब त वरदान नै हो।

बाँकी संसार एकातिर, नेपाल भने अर्कोतिर । अमेरिकालगायत विश्वका अनेक मुलुकहरू व्यापार युगमा प्रवेश गरेर व्यापारबाट अधिक फाइदा लिने स्थितिमा पुगेका छन्। नेपाल भने झगडिया युगभन्दा बाहिर आउन सकिरहेको छैन। नेपालले अन्तहीन ‘महाभारत’ बाट कहिले मुक्ति पाउने हो?hamropatro