यदि तपाईंसँग अमेरिकामा काम गर्ने अनुमति छ भने यस मुलुकमा दैनिकी चलाउन सकिने किसिमका जागिर खोज्न त्यती गाह्रो छैन। तर सबैले आश गर्ने र आँखा लगाउने ‘राम्रो काम’ (यसलाई अमेरिकामा प्रोफेसनल जब भन्ने गर्छन् ) पाउनका लागि बसाइँ सरी अमेरिका आएका प्रवासीहरुलाइ धेरै नै कठीन मानिन्छ। प्रोफेसनल जागिरहरुमा वार्षिक तलब तोकिएको हुन्छ र कम्पनी अनुसारको आकर्षक सुविधाहरुको पनि व्यवस्था गरिएको हुन्छ। हप्ताको चालीस घन्टा भन्दाबढी काम गर्न नपर्ने, शनिबार र आइतबार बिदा पाइने, कम्पनीअनुसार सार्वजनिक बिदा, बिरामी बिदा, वार्षिक भ्याकेसन बिदा पाइने, आकर्षक औषिध उपचार बिमा, जीवन बिमा, पेन्सन प्लान, घरबाट काम गर्न पाउने लगायत सुविधा उपलब्ध हुने भएकाले पनि पढे लेखेकाहरुको पहिलो च्वाइस नै प्रोफेसनल जब रहन्छ। त्यसैले पनि होला यस्ता जागिरहरुलाई ‘लक्जरियस जब’ समेत भन्ने गरिन्छ।
अमेरिकामा प्रोफेसनल जागिर पाउन धेरै मेहनत र लगानी गर्नुपर्छ। तपाईसँग अमेरिकि जागिरको बजारमा अरुसँग प्रतिस्पर्धा गर्नसक्ने राम्रो शिक्षा, तालिम, सीप आवश्यक पर्छ। अझ त्यसमा पनि अमेरिकामा लिइने शिक्षा, काम गरेको अनुभव र रेफरेन्स आवश्यक पर्छ। अत: यस लेखमार्फत अमेरिकामा डिभी वा अन्य विधिमार्फत स्थायी बसोबासका लागि अनुमति पाएर आउन चाहने वा आसकेका नवआगन्तुक नेपालीहरु जोसँग यस मुलुकको शिक्षा तथा काम गरेको अनुभव छैन, त्यस्ता व्यक्तिहरुलाई प्रोफेसनल जागिरको तयारी गर्न र जागिर पाउन सहयोग पुगोस् भन्ने हेतुले केही मुख्य सुझावहरु छोटकरीमा प्रस्तुत गर्दैछु।
१. तपाईंको मान्यता प्राप्त शैक्षिकस्तर र अनुभवले नै अमेरिकामा ‘राम्रो जागिर’ पाउने सम्भावनालाई आकर्षित गर्छ। आफ्ना शैक्षिक उपलब्धिहरुलाई अमेरिकाको पद्धतीअनुरुप रुपान्तरण गर्नु नै तपाईंको पहिलो काम हुनुपर्छ। यदि तपाईंसँग नेपालमा काम गरेको अनुभव वा शैक्षिकस्तरको प्रमाणपत्र भए अमेरिकामा लिएर आउँदा राम्रो हुनेछ। यी कागजातका आधारमा तपाईंले आफ्नो अध्यनका लागि कलेजबाट क्रेडिट पाउन सक्नु हुनेछ, जसबाट तपाईंलाईं थप शैक्षिकस्तर बढाउन सहयोग मिल्नेछ। यसरी क्रेडिट रुपान्तरण गर्दा पढनु पर्ने विषय कम हुन गई खर्चसमेत कम हुन जान्छ ।
२. यदि तपाईंले नेपालमा रहँदा कुनै अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नुभएको भए त्यसमा काम गरेको अनुभव अमेरिकामा काम लाग्न पनि सक्छ। विषेशगरी तपाईंले नेपालमा रहँदा अमेरिकी लागानी भएको वा अमेरिकी संघसंस्थामा काम गरेको भए त्यस अनुभवले प्रोफेसनल जब पाउने सम्भावना बढाउन सक्छ। तपाईंले नेपालमा गरेको कामको प्रकृति हेरी त्यसलाई अझ परिस्कृत गर्न अमेरिकामा थप तालिम लिँदा तपाईंले आर्जन गरेको अनुभवले सार्थकता पाउन सक्छ। अमेरिकी कानुनअनुसार पनि धेरै प्रकारका कामहरुको लागी पढाइको अलावा सम्बन्धित जागिरको लागि थप तालिम तथा लाइसेन्स लिनुपर्ने प्रावधान हुनसक्छ।
३. तपाईंसँग कामको अनुभव छ तर अंग्रेजी भाषा राम्रो छैन भने आफ्नो नजिकको काउन्टी अफिसमा सम्पर्क गरी अंग्रेजी भाषा सिक्दा राम्रो हुन्छ। धेरै काउन्टीले तेस्रो मुलुकबाट स्थायी बसोबासका लागि आएका नवआगन्तुकहरुलाई अंग्रेजी भाषा सिकाउँछन्, जागिर र बसोबासको सल्लाह दिन्छन्।
४. राम्रो काम पाउनका लागि तपाईंले पढाइ, तालिम वा सीप आर्जनमा लगानी गर्नुपर्ने हुन्छ। आफूनजिकैको कम्युनिटी कलेजमा सम्पर्क गरी आफूले चाहेको जागिरका लागि उपलब्ध छोटो अवधिका तालिम वा सर्टिफिकेट वा लाइसेन्स पाइने विषयहरुमा छलफल गरी आफ्नो शैक्षिकस्तर र सीप बढाउन सक्नुहुनेछ। त्यस्तै, तपाईंको पढाइमा नपुग भएको क्रेडिट लिई आफ्नो पढाइ सम्पन्न गरेमा अमेरिकी जागिरको बजारमा तपाईंलाईं प्रतिस्पर्धा गर्न सजिलो हुनेछ।
५. काम सिक्नका लागि कम्पनीहरुमा इन्टर्नसीप, स्वयंसेवक, भोलेन्टियर वा अस्थायी काम गर्दा ठूलो फाइदा हुन्छ। धेरै कार्यालयहरुले इन्टर्नसीपका लागि आफ्नो वेबसाइटमार्फत सूचना प्रकाशित पनि गर्छन्। अत: यसबारेमा आफ्नो काउन्टी कार्यालय वा चिनेजानेका साथीभाइको सहयोग लिन सक्नुहुनेछ। यसबाट तपाईंले आफ्नो कामको अनुभव देखाउन सक्नुहुनेछ।
६. यदि तपाईंको अंग्रेजी बोलाइ र लेखाइ राम्रो छ भने घरबाट नै ट्रान्स्लेटर वा इन्टरप्रेटरको काम गर्ने विकल्प पनि छ। यसका लागि तपाईंको काउन्टी कार्यालयले सल्लाह दिन सक्छ। अथवा यस्ता कामका लागि आधिकारिक मान्यता प्राप्त कम्पनीहरुको नाम वेबसाइटबाट खोजी ती कम्पनीहरुसँग कुरा गर्न सक्नुहुन्छ। यस्ता ट्रान्स्लेटर वा इन्टरप्रेटरको कामहरु काउन्टी, स्कुल, अस्पताल लगायतलाई आवश्यकता परेको हुन्छ। यसबाट पनि तपाईंले आफ्नो कामको अनुभवलाई तिखार्न सक्नुहुनेछ।
त्यस्तै, अमेरिकामा आयकर दाखिला सम्बन्धि तालिम लिँदा र कर दाखिलाको काम गर्दा यसबाट आफ्नो अनुभव बढाउन मद्दत मिल्छ। यसका लागि आन्तरिक राजस्व कार्यालयबाट तालिम लिई लाइसेन्स प्राप्त भएपछि काम गर्न पाउने व्यवस्था छ। यसबाट कामको अनुभवका साथै आफ्नो खर्च उठाउन मद्दत पुग्नेछ।
७. जब तपाईंले आफ्नो पढाइ वा सीपमूलक तालिम सम्पन्न गर्नुहुन्छ, तब आफूले सिकेको वा दक्षता हासिल गरेको कामको लागि आफ्नो ‘रेजमी’ बनाउन सक्नुहुनेछ। जागिर खोज्नका लागि पेशागत जागिर भर्ना गराउने कम्पनीहरु, आधिकारिक कन्ट्रयाक्टर, आफ्ना चिनजानका साथीभाइमार्फत वा विभिन्न कार्यालयका वेबसाइटमार्फत जागिरको जानकारी लिई आफ्नो निवेदन हाल्न सक्नुहुनेछ।
८. जबफेयरमा भाग लिनुहोस्। तपाईं बस्ने सहरमा समय समयमा जबफेयर हुन सक्छ। स्थानीय समाचार पढ्ने वा सुन्ने गर्नाले जागिरको अवस्थाका बारेमा जानकारी पाउन सजिलो हुन्छ। यस्ता जबफेयरमा स्थानीय कम्पनीहरुलाई विभिन्न प्रकारका कर्मचारीहरु तुरुन्त नियुक्ति गर्नुपर्ने हुँदा सोही स्थानमा रेजमी हेरेर अन्तर्वार्ताको माध्यमले उपयुक्त कर्मचारी छनोट गरिन्छ। जबफेयरबाट पनि तपाईंलाई राम्रो कामको अवसर मिल्न सक्छ।
९. आफूले चिताएअनुरुपको जागिरको बदला केही फरक प्रकृतिको जागिर पाएमा काम सुरु गर्नुहोस्। यस नयाँ जागिरले तपाईंको अनुभव र व्यक्तिगत प्रोफाइल बढाएर भविष्यमा आफ्नो चाहनाअनुरुपको जागिर पाउने सम्भावनालाई मद्दत गर्दछ।
१०. आफ्नो पढाइ र अनुभव हासिल गर्न र जागिरको लागि निरन्तर प्रयास गर्न विचलित नहुनुहोस्। तपाईंले चिताएको राम्रो काम (प्रोफेसनल जब ) एक दिन निश्चय पनि प्राप्त हुनेछ। महत्वपूर्ण कुरा चाहिँ राम्रो जागिरका लागि आफ्नो योग्यता र अनुभव नपुगे सम्म दैनिक जीविका निर्वाहका गर्न । आफ्नो पढाइ/तालिमको खर्च धान्नसक्ने जे-जस्तो काम पाइन्छ, त्यसलाई निरन्तरता दिनु उपयुक्त हुनेछ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks