अब एप्पलको आफ्नै वायरलेर चार्जिङ प्रविधि

काठमाडौं : स्थापना कालदेखि नै आफ्नै अपरेटिङ सिस्टम र ग्याजेटका पाटपुर्जासमेत सकेसम्म आफ्नै मात्र प्रयोग गर्दै आएको एप्पलले अब आफ्नै वायरलेस चार्जिङ प्रणाली प्रयोग गर्ने भएको छ । कम्पनीले यसका लागि न्यूजिल्याण्डको वायरलेस चार्जिङ प्रविधिमा काम गर्दै आएको कम्पनी पावर बाइ प्रोक्सी खरिद गरेको छ ।

२००७ मा युवा उद्यमी फ्याडी मीशीर्कले स्थापना गरेको कम्पनीलाई एप्पलले अधिग्रहण गरेको हो । कम्पनी खरिद गरेको पुष्टि गर्दैै एप्पलको हार्डवेयर इन्जिननियरिङका वरिष्ठ उपाध्यक्ष ड्यान रीक्कियोले वायरलेस चार्जिङ प्रणालीका लागि नयाँ कम्पनी खरिद महत्वपूर्ण कोशेढुंगो हुने बताएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा छन् ।

एप्पलले हालैमात्र आइफोट एट, आइप्याड र एप्पल वाच वायरलेस चार्जरको सहायताले चार्ज हुने सुविधासहित ल्याएको छ भने आगामी ग्याजेटहरुमा पनि यो प्रविधि रहने अनुमान गरिएको छ । हाल एउटै वायरलेस चार्जरबाट एप्पलका यी तिनै ग्याजेट चार्ज गर्न सकिन्छ । एप्पल विश्वकै महँगो टेक कम्पनी हो भने विश्वको सबैभन्दा धेरै स्मार्टफोन विक्री गर्ने दोस्रो ठूलो कम्पनी हो ।

karobardaily